महोत्तरी : अपांगता भएकी युवतीमाथि भएको बलात्कार घटनामा गाउँका अगुवा भनाउँदाहरूले मिलाउन खोजेको घटना बाहिरिएको छ। उनीहरूले पीडित बालिकाका परिवारलाई घटना मिलाउन दबाब दिएका छन्। यद्यपि पीडित परिवारजनले नमानेपछि आरोपी फरार भएका छन्।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुपमै अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्टा बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी सोही ठाउँ बस्ने (बल्वा नगरपालिका- ११) निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले वैशाख २६ गते बलात्कार गरेका हुन्।

घटनाबारे कुरा बाहिर आएपछि अहिले गाउँमा पीडित परिवारजनलाई गाउँमै घटना मिलाउने दबाब बढेको छ। उनिहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसँग गुहार मागिरहेका छन्।

यसरी भएको थियो घटना

बलात्कारका आरोपी शेष पेशाले ट्रयाक्टर चालक हुन्। उनी सामान ढुवानीको काम गर्छन्। उसले कोरोना महामारीको दोस्रो लहरसँगै महोत्तरीमा वैशाख २१ गते मध्यरातदेखि निषेधाज्ञा सुरु भएपछि छरछिमेककै अन्नबाली ओसारपसार गर्थे।

सोही क्रममा पीडित परिवारले बिक्री गर्न ठीक पारेको गहुँ पनि उसले बजारसम्म पुर्‍याए। त्यसबपतको ढुवानी भाडा लिन शेष वैशाख २६ गते दिउँसो ४ बजे पीडितको घरमा पुगे। त्यतिबेला घरमा अरू कोही थिएन। बोल्न र हिँडडुल गर्न नसक्ने २० वर्षीया युवती मात्रै थिइन्। घर कोही नभएको र युवतीलाई एक्लै देखेर उसको नियत खराब भयो। शेषले युवतीलाई बलात्कार गरे र घर फर्किए।

साँझमा युवतीको बुवा आमा घर फर्कंदा छोरी छटपटाउँदै रोइरहेको भेटाए। अनि बुझ्दा युवती आफ्नी आमालाई दिउँसो कोही व्यक्ति आएर आफूसँग गरेको अपराधबारे हातको इसाराले बताउन र बुझाउन खोजिन्। त्यो रात त्यसै कट्यो।

भोलिपल्ट वैशाख २७ गते शेष ढुवानीको भाडा लिन पुन उसको घर पुगे। त्यही बेला पीडित युवतीले शेषतिर इशारा गर्दै उसले आफूसँग गरेको दुष्कर्मबारे आमालाई बताउन थालिन्। ‘उसकै अगाडि बलात्कार गरेको बेला उसले के कसो गरेको थियो, कस्तो लुगा लगाएको थियो भन्ने हाउभाउसहित छोरीले सुनाइन्,’ आमाले भनिन्। शेषले स्वीकारेनन्। बरु पोल खुल्ने डरले त्यहाबाट तुरुन्तै फरार भए।

छोरीको कुरा पीडित बुवा आमाले बुझे। आमाले छोरीको बोलीचालीको सांकेतिक भाषामा घटनाबारे दोहोर्‍याइ तेहेर्‍याइ सोधिन्। छोरीले रुँदै असह्य हुने गरी दुःख दिएको बारम्बार भनिरहेपछि उनीहरुले न्यायको लागि छरछिमेकलाई सुनाए। आरोपीलाई पक्राउ गर्न हारगुहार गरे। तर छिमेकी केही अगुवाहरुले सहयोग गर्नुको साटो समाजको इज्जतको सवाल उठाउँदै गाउँमै घटना मिलाउन र ढाकछोप गर्न सुझाव दिए। अगुवाहरुको कुरा पीडित परिवारजनलाई मन परेन।

घटनाबारे कुरा विस्तारै बाहिर आएपछि केही अधिकारकर्मीले न्यायको लागि प्रहरी प्रशासनमा जान पीडित परिवारलाई आँट र भरोसा दिए।

यसरी घटनाको तीन दिन बितिसकेको थियो। पीडित परिवारजन छोरीलाई बोकेर वैशाख २९ गते करिब २ घण्टाको टेम्पो यात्रा गरेर न्याय माग्न महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर जाहेरी दिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले फरार दोषीको खोजी भइरहेको बताए। ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन्, ढिला जानकारी प्राप्त हुँदा दोषी फरार छ’ उनले भने, ‘पक्राउ गरेपछि अनुसन्धान हुन्छ, बलात्कारजस्तो अपराध त्यसमाथि अपांगता भएको व्यक्तिलाई भएकाले संवेदनशील भएर लागेका छौं।’

पीडित युवतीको स्वास्थ्य जाँच जलेश्वर अस्पतालमा सोही दिन (वैशाख २९गते) गरिएको थियो।

सामान्य खेतीपाती गरेर जीविका चलाइरहेका पीडितका बाबुआमालाई बारम्बार जिल्ला धाइरहने र प्रमाण जुटाउने खर्च जुटाउन गाह्रो भएको बताउँछन्।

उनीहरुले आफ्नो छोरीलाई सुरक्षित राख्न नसक्ने भन्दै संरक्षणका लागि सहयोग मागेका छन्। ‘हाम्रो छोरीलाई त्यस्तो बनाउने मान्छेलाई चाँडोभन्दा चाँडो पक्राउ गर्नुपर्‍यो, हदैसम्मको कारबाही हुनुपर्‍यो,’ पीडितका बुवाले भने। उनका चार छोरीमध्ये तीनको विवाह भइसकेको छ। एक छोरा अन्यत्रै बस्छन्।

घटनाबारे जानकार ओरेक संस्थाको महोत्तरी जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले पीडित पक्षलाई समाजका अगुवाहरुले आर्थिक प्रलोभनमा पारेर घटना गाउँमै मिलाउन धम्काइरहेको बताइन्।

‘पीडितको बाबुआमा ६० वर्ष जतिको हुनुहुँदो रहेछ, बुढेसकालमा आफैंलाई सहारा चाहिएको बेला छोरीमाथि त्यस्तो भएपछि झनै समस्यामा पर्नुभएको छ,’ उनले भनिन्, ‘गाउँमा यसै सामसुम पारिदिने हो भने भोलि अरू छोरीहरु झनै असुरक्षित हुन्छन्, यसमा प्रहरी र सरोकारवालाले व्यापक रूपमा लाग्नुपर्छ।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here