सिन्धुली : कोरोना संक्रमणका कारण सिन्धुलीमा एकै दिन दुई जनाको मृत्यु भएको छ। सदरमुकाम सिन्धुलीमाढीस्थित कोभिड अस्पतालमा उपचार गराईरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

कमलामाई नगरपालिका ४ की ३० वर्षीय महिला र दुधौली नगरपालिका ९ की ४८ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए।

‘कमलामाई नगरपालिका ४ की ३० वर्षीय महिलालाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि वैशाख २९ गते सिन्धुलीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो। परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो र उपचारकै क्रममा सोमबार बिहान ९ बजेतिर उनको मृत्यु भएको हो’ प्रमुख शाहले भने।

दुधौली नगरपालिका ९ की अर्की महिलाको पनि सोमबार नै बिहान ४ बजे मृत्यु भएको थियो। कोरोना पोजेटिभ देखिएकी उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो। कोरोना भाइरसको दोस्रो भेरियन्टबाट सिन्धुलीमा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने सिन्धुलीमा हालसम्म ५ सय ५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रवक्ता सन्तोष माझीले जानकारी दिए।

हालसम्म १४ सय २३ जनाको कोरोना परीक्षण गर्दा ५ सय ५४ जना सक्रिय संक्रमित भेटिएका हुन्। अहिलेसम्म ४५ जना कोरोना संक्रमित निको भएर सामान्य अवस्थामा फर्किएका छन्। सिन्धुलीमा अधिकांस कोरोना संक्रमित होम आईसोलेसनमा बसेका छन्।

गम्भीर समस्या देखिएका मात्रै अस्पताल आउने र सामान्य लक्षण भएका अधिकांश संक्रमित घरमै बसेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ। सक्रिय संक्रमितमध्ये १७ जना कोभिड अस्पताल सिन्धुलीमा उपचाररत रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमै रहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here