सर्लाही : कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन बनाएका पालिकाहरूले अक्सिजनको जोहोमा जुटे पनि सिलिन्डर नै नपाएको बताएका छन्। पालिकाहरू भयावह स्थितिबाट जोगिन अक्सिजन सिलिन्डरको व्यवस्थापनमा जुटेका हुन्।

बरहथवा नगरपालिकाले सर्पदंश उपचार केन्द्रमा २५ बेडको आइसोलेसन निर्माण गरेको छ। तर त्यहाँ अक्सिजनको व्यवस्थापनमा गर्न नसकिएको नगरपालिकाका मेयर देवानन्द महतो बताउँछन्। उनले जिल्ला प्रशासनसहित विभिन्न निकायमा अक्सिजन सिलिन्डर व्यवस्थापन गरिदिन आग्रह गरे पनि कतैबाट जोहो नभएको जानकारी दिए ।

कम्तीमा एक सय सिलिन्डर खरिद गर्न चाहेको उनले बताए । उनका अनुसार संक्रमितको संख्या थपिँदै गए विद्यालयमा पनि आइसोलेसन बनाउन सकिनेछ। ‘संक्रमण दिन प्रतिदिन बढ्दै छ, उनीहरूलाई राख्न आइसोलेसनको चिन्ता छैन, बेडहरू तयारी अवस्थामा छ, तर सबैभन्दा चिन्ताको विषय अक्सिजन नै हो,’ मेयर महतोले भने।

जिल्लामा हरिवन र गोडैता नगरपालिकाले मात्र अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका छन्। गोडैता नगरपालिकाले १५ शय्याको कोभिड अस्पताल बनाएको छ।

त्यहाँ अहिलेलाई पुग्ने अक्सिजन सिलिन्डर भए पनि संक्रमण बढ्दै गएकाले गम्भीर बिरामीलाई अक्सिजन अभाव हुनेछ। तर, थप सिलिन्डर नपाएको गोडैताका मेयर देवेन्द्र यादवले बताए। १ सय शय्याको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिसकेको हरिवन नगरपालिकालाई भने चिन्ता छैन। हरिवनले कोरोनाको दोस्रो लहर चलेकै बेला अक्सिजनसहितको एक सय बेड निर्माण गरिसकेको छ।

हरिवनका मेयर गणेश प्रसाईंले अक्सिजनकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताए। उनले गम्भीर बिरामी र अक्सिजनबिना समस्यामा परेका पालिकालाई पनि सक्दो सहयोग गर्ने जनाए।

‘हामीले पहिले नै कोरोनाको दोस्रो लहरले विकराल रूप ल्याउँछ भनेर आकलन गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गर्‍यौं, अक्सिजनकै कारण हरिवनका नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन,’ मेयर प्रसाईंले भने, ‘अन्य पालिकाका गम्भीर बिरामी परेकालाई पनि सक्दो सहयोग गर्छु ।’ प्रशासनले जिल्लाभरि अक्सिजनसहितको आइसोलेसन तयार भइरहेको जनाएको छ। जिल्लाभरि १ सय ४७ अक्सिजन सिलिन्डर रहेको जनाउँदै प्रशासनले थप व्यवस्थापन भइरहेको जनाएको हो।

यसैबीच जिल्ला प्रहरी कार्यालयले सर्लाहीको तीनवटा चिनी उद्योगमा राखिएको १ सय २२ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ। चिनी उद्योगमा ८० थान भरिएको र ४२ थान खाली रहेको अक्सिजन सिलिन्डर संकलन गरी जम्मा पारिएको हो।

हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैतास्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा ती सिलिन्डर रहेको जिल्लाका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। संक्रमितलाई आवश्यक परे तुरुन्त पुर्‍याउने गरी राखिएको उनको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here