सर्लाही : दुई साताभित्र एकै गाउँका १३ जनाको मृत्यु भएपछि गाउँमा अहिले त्रास फैलिएको छ। महोत्तरीको भंगाहा नगरपालिका-४ रामनगरका एउटै बस्तीमा पछिल्लो दुई साताभित्र १३ जनाको मृत्यु भएको हो।

निषेधाज्ञा र महामारीको डरले स्थानीय छरछिमेक मृत्यु हुँदासमेत उनीहरूको घरमा दाहसंस्कारमा सामेल हुन छोडेका छन्। मृत्यु हुनेमध्ये एक जना ५० वर्षीया महिलाको मात्र कोरोना परीक्षण गरिएको तर अधिकांशमा कोरोनाको लक्षण देखिएको छ ।

मृत्यु हुने प्राय सबैलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र पखाला लाग्ने व्यथाले च्यापेको स्थानीयले बताएका छन्। स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठका अनुसार यसरी नगरपालिकाभित्र एउटै बस्तीका लगातार एक दर्जन बढी व्यक्तिको मृत्यु भइसक्दा पनि अहिलेसम्म कोरोना परीक्षण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन्।

भंगाहा नगरपालिका वडा नं ४ का अध्यक्ष अशोकुमार महतोले बस्तीमा अहिले पनि २ सयभन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको बताए।

वडाध्यक्ष महतोले गाउँमा कोरोना परीक्षणका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग सम्पर्क गरिरहेको बताए। उनले भने, ‘सबैतिर महामारीको चपेटा छ। प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो।’

अब बस्तीस्तरमै कोरोना परीक्षणका लागि स्वाब संकलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ। भंगाहाका मेयर संजीव साहले जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी गराएका र कोरोना चेकजाँच तथा उपचारका लागि जनशक्तिको प्रबन्ध मिलाइरहेको बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here