सर्लाही : देशभरका किसानले लगाएको तरकारी बिक्री नभएर बारीमै कुहिन थालेको समाचार दिनहुँ आइरहन्छन्। तर लालबन्दी नगरपालिका-१७ का किसान भने घरआँगनमै तरकारी किन्न व्यापारी आउँदा हर्षित भएका छन्।

बिहान ७ देखि ११ बजेसम्म किसानले फलाएका माैसमी तरकारी (बोडी, परवल, भिण्डी, करेला) लिन अहिले काठमाडाैंबाट व्यापारी रानीगन्जका चोकचोकमै पुग्न थालेका छन्।

कोरोना महामारीका कारण सर्लाहीमा पनि निषेधाज्ञा लगाइएको छ। जसमा कारण बजार क्षेत्रमा प्रशासनले भीडभाड कम गराउँदै आएको छ। बढ्दो संक्रमणका कारण आफूले उत्पादन गरेका तरकारी कृषकहरूले बजार लैजान समस्या हुँदै आएको थियो। तर अहिले व्यापारीहरू किसानको घरघरमै पुग्न थालेपछि भने उनीहरू खुसी भएका हुन्।

अहिले काठमाडौंबाट आएका व्यापारीले कृषकको मोलमा नै तरकारी उठाउन थालेका छन्। लालबन्दी नगरपालिका-१७ घिमिरे चोकमा अहिले बिहानै तरकारी लिन व्यापारीहरू आइपुग्ने गरेका स्थानीय बलराम बस्नेतले बताए।

बिहानको समयमा उल्लेख्य संख्यामा व्यापारीहरू तरकारी किन्न आइँदिँदा यहाँका कृषकको तरकारी बिक्री गर्न बजारमै लैजानुपर्ने समस्या अन्त्य भएको बस्नेतले बताए।

त्यस्तै जिल्लाकै ईश्वरपुर वडा नम्बर ४ र ५ का कृषक पनि रानीगन्जको घिमिरे चोकमा तरकारी बिक्री गर्न आउने गरेका उनले जानकारी दिए।

ईश्वरपुर मात्र नभई लालबन्दी नगरपालिकाको उत्तरी भेगमा रहेको १५ र १६ नम्बर वडाका कृषक पनि यहीँ तरकारी बिक्री गर्न आउने बस्नेत बताउँछन्।

रानीगन्ज कृषक सन्तोष बलका अनुसार अघिल्लो लकडाउनभन्दा यो वर्ष व्यापारी घरआँगनमा तरकारी खरिद गर्न आएका छन्। जसका कारण आफूहरूलाई निकै राहत मिलेको बलले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here