सर्लाही । केहिदिन देखि भएको निरन्तर वर्षाका कारण सर्लाहीका मकै किसान चिन्तित भएका छन् । कोरोना महामारीका बीच मकै थन्क्याउन व्यस्त जिल्लाका किसानलाई दिनभर भएको वर्षाले पिरोलेको हो । मिनी पन्जावको नामले चिनिने जिल्लाको बरहथवा, मुर्तिया, राजघाट, शंखरपुर, लालबन्दी, हरिवन, ईश्वरपुर क्षेत्रका किसान यतिबेला मकै भित्र्याउन व्यस्त छन् ।

आफुले भर्खरै छोडाएर सुकाउने तयारिमा रहेको मकै वर्षाका कारण कुहिने होकी भन्ने चिन्ताले सताएको बागमती ८ सोल्टीका किसान महेन्द्र साहले बताए । आफुले त मकै भाच्नै पाएको छैन अब वर्षा भईरहे बोटमै कुहिन थाल्छ,“अर्का किसान रामहरी उप्रेती बताउँछन् ।”

समयमा मलखादको राम्रो प्रबन्ध नभएपनि जसो तसो बालिनाली लगाईयो मौसमले साथ दिदैन, ‘हामी किसानलाई समस्याको पहाडले सधै थिचिरहन्छ’, “के नै गर्न सक्छौ र हामी” सोल्टीका अर्का किसान उत्तम साहले गुनासो गरे ।

यो देशमा मर्ने भनेकै किसान मात्र हुन्, ‘जसो तसो रगत पसिना गरेर फलाएको मकैको मूल्य छैन, ‘कोरोनाको कारण देखाउँदै व्यापारीले १ हजार ८ सय देखी २ हजार प्रति क्यून्टल भन्न थालिसके नखाउत दिनभरको शिकार खाउ भने कान्छा बाउको अनुहार भनेझै भईसक्यो,‘अर्का किसान राजन मगरले भने ।

नगदे बाली उखुका लागि विभिन्न अनुदानका प्याकेजहरु आएपनि आफुहरुलाई सरकारले उपेक्षा गरेको किसानको गुनासो छ । आफुहरुले ८ सय रुपैया प्रति केजीका दरले किनेर लगाएको मकैको मूल्य अहिले १ हजार ८ सय देखी २ हजार सम्ममा बिक्दै छ, “हिजो राज्यले समयमा मल उपलब्ध नगराएर काला बजारीलाई प्रसय दिएको घाम जस्तै छर्लङ्ग छ” बरहथवाका अर्का किसान नरेन्द्र महतोले भने ।

पछिल्लो समय सर्लाहीमा १० हजार हेक्टर भन्दा बढि जमीनमा किसानले वर्णशंकर जातको मकै खेति गर्दै आएका छन् । बेलैमा मलखाद उपलब्ध नहुनु, उचित भण्डारणको व्यवस्था नहुनु जस्ता कारणले गर्दा किसान मारमा परेका छन् । जसो तसो व्यावसायिकता तर्फ उन्मुख कतिपय किसान परम्परागत खेती गर्न बध्य हुन थालेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here