काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्ना २६ जना सांसदमाथि कारबाही गर्ने नेकपा एमालेले जनाएको छ।

देउवाको समर्थनमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको एमालेले जनाएको छ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे।

पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको उनले बताए। ‘उहाँहरु एमाले संसदीय दलको सदस्य हो।

एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानबिन गर्दैछौं भनेर भनिएको छ’, तामाङ ले भने।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाले शुक्रबार राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्।

राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दाबी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ–आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन्। ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्।

उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन्। त्यस्तै देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here