सर्लाही:- कोरोनाका कारण जिल्लाका हाट-बजार बन्द भएपछि सर्लाहीका किसानहरुले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । स्थानीय प्रशासनले हाट–बजार बन्द गरेको र गाउँमा तरकारी बेच्नसमेत समस्या भएपछि किसानहरुको तरकारी बारीमै कुहिन थालेको हो।

यसअघि जिल्लाका किसानले आफूले उत्पादन गरेका तरकारी काठमाडौं उपत्यका तथा अन्य जिल्लामा बेच्ने गर्थे। तर, कोरोना कहर र निषेधाज्ञाका कारण सहज ढुवानी हुन नसक्दा तरकारी बारीमै कुहिन थालेपछि किसान चिन्तित देखिएका छन्।

निषेधाज्ञासँगै बजार बन्द रहेकाले तरकारीको माग पनि घटेको र पहिला घरमै आएर तरकारी लैजाने व्यापारीले पनि नलगेको किसानहरुको भनाइ छ। जिल्लाका स्थानीय हाट-बजारमा लगेर तरकारी बेच्न नपाएपछि किसान थप मर्कामा परेका हरिवन नगरपालिका २ का स्थानीय किसान रामपुकार महत्तोको गुनासो छ।

किसानको बारीमा अहिले काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, भन्टा, गोलभेंडा, साग,चिप्ले भिण्डी लगायतका तरकारी लटरम्मै फलेका छन्। गत वर्ष पनि यसै सिजनमा लकडाउन भएपछि जिल्लाका अधिकांश किसानहरुले आफ्नो खेत बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्‍याउन पाएका थिएनन्।

अन्य बाली जस्तो तरकारी भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिन दिनु वा पशुहरूलाई खुवाउनुको विकल्प नरहेको लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले बताए।

लकडाउन, निषेधाज्ञा लगायतका अप्ठ्यारो समयमा तीनै तहको सरकारले किसानको कृषिउपज नष्ट नहुने व्यवस्था मिलाउन ध्यान दिनुपर्ने किसान अगुवा तथा लालबन्दी नगरपालिका ५ का स्थानियबासी हरी प्रसाद धमालाले बताए। जिल्लामा शितभण्डारण केन्द्र नहुँदा जिल्लाका तरकारी उत्पादक किसानहरुलाई थप समस्या हुने गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here