काठमाडौं : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरतावादीकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन्।

शुक्रबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार नबनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछी प्रतिक्रिया जनाउदै निवर्तमान मन्त्री साहले अस्थिरता र अराजकता मच्चाउन खोज्नेहरुको अतिवाद बढेर देश ताजा जनादेशमा जान बाध्य भएको बताए। संसदीय मुल्य मान्यता, विधि विधान र दलिय अनुशासन कुरा गर्नेहरुले नै त्यस विपरीतको गतिविधि देखाएर देशलाई बन्धक बनाएको तथा अराजक र स्थिरतावादी फैलाउने हर्कतले हद नाघेपछि देश मध्यावधिमा गएको बताए । देशमा स्थिरता चाहने कोही पनि लोकतन्त्रवादीहरुले चुनावको विरोध गर्न नसक्ने बताए।

‘तपाईं हेर्न सक्नुहुन्छ, बहुमतको मातहतमा अलपमत रहने दलीय लोकतान्त्रिक व्यवस्था मान्छौ भन्नेहरु जसपाको १२ जनाले २० जनामाथि, नेकपा एमालेको २६ जनाले ९५ जनामाथि शासन गर्ने लालसासाथ आफ्नो दलविरुद्ध अरुलाई प्रधानमन्त्री बनाउन तल्लीन छन्। आफूलाई संसदको जननी भन्ने कांग्रेसले संसदीय अभ्यास र मर्यादा विपरीत अरु दलको सांसदको हस्ताक्षरको दुरुपयोग गर्ने अप्राकृतिक ढंगले प्रधानमन्त्री बन्न खोज्ने जस्ता हर्कतहरु भइरहेका छन्,’ नेता साहले भने, ‘त्यति मात्र होइन, एकातिर दलीय अनुशासनको नाममा बिना सांसदलाई पैकेटमा लिएर हिँड्ने र बिनाकारण स्वेच्छाचारी ढंगले मन नपर्ने सांसदलाई बर्खास्त गर्ने, अर्कोतिर स्वतन्त्रको नाममा आफ़नो पार्टीविरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गर्ने, यी दुबै किसिमको अतिवाद भइरहेको छ। यी र यस्ता हर्कत गर्ने अराजक र अनैतिकवादीहरुको कारण आज देश मध्यावधिमा जान बाध्य भएको छ।’

देश लामो समयदेखि अन्यौलता एवं अनिर्णयको भुमरीमा फसेको र दूषित संसदीय खेलबाट जनता निराश भैसकेकोले ताजा जनादेशबाट मात्र निकाश दिन सकिने उनको भनाइ छ। अस्पष्ट व्यवस्थाले जन्माएको अराजकताका कारण भइरहेका भद्दा खेल रोक्न लोकतन्त्र र अग्रगमन पक्षधरहरुलाई चुनावको स्वागत गर्दै अगाडि बढ्न अपिल समेत गरेका छन्।

‘मुलुक लामो समयदेखि अन्तरघात, अस्थिरता, अन्यौलता एवं अनिर्णयको भुमरीमा घुमिरहेको सन्दर्भमा अहिलेको दूषित संसदीय खेलबाट आर्जित एवं निराश भैसकेको देश र जनतालाई ठोस एवं सही निकाश दिन अहिलेको मौजूदा व्यवस्थामा मध्यावधि चुनाव अर्थात ताजाजनादेश नै सर्वोत्तम विकल्प छ।’ नेता साहले भने, ‘त्यसैले सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनतामाथि विश्वास गर्ने सम्पूर्ण लोकतन्त्र पक्षधरहरुले यस निर्णयको जोड़दार स्वागत गर्न जरुरी छ।’

नेता साहले विभिन्न अराजक हर्कत हुनुमा पनि भद्दा, विकृत एवं दलाल नोकरशाही पुँजीवादी व्यवस्था नै रहेकोले त्यसको परिमार्जनबारे पनि सोच्ने बेला आइसकेको बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here