काठमाडौं : मापदण्ड विपरीतका (नक्कली) स्यानिटाइजरसहित ३ जनालाई काठमाडौंका विभिन्न उद्योगबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने सोही महानगरपालिका-२२ घर भएका उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका संचालक ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाइटर ४८ वर्षीय राकेश अग्रवाल र काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने लामा समिप इन्टरप्राइजेज प्रालिका संचालक ४२ वर्षीय सुमन लामा छन्।

प्रहरीले उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेड काठमाडौं बालाजुबाट आइपिए रसायन भएको २ सय लिटरका ८ थान ड्रम, स्यानिटाइजर बनाउने रसायन २ सय लिटरका ७ थान ड्रम, पिजि एलएलपि र ग्लाइसिन रहेको २ सय लिटरका ५ थान ड्रम, ५ सय मिलिमिटरका १ सय २७ कार्टुन स्यानिटाइजर, १ सय मिलिलिटरका ३५ कार्टुन स्यानिटाइजर, ५ लिटरका ४० कार्टुन स्यानिटाइजर, १ लिटरका २ कार्टुन स्यानिटाइजर बरामद गरेको छ।

साथै मूल्य तथा मिति लेवलिङ प्रयोग गर्ने ३ थान मेसिन र कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सोही कम्पनीको काठमाडौं महानगरपालिका-१३ चागल स्वयम्भूबाट १ सय मिलिलिटरका ७८ कार्टुन स्यानिटाइजर, ५ सय मिलिलिटरका २२ कार्टुन स्यानिटाइजर, ५ लिटरका २१ कार्टुन स्यानिटाइजर र १ सय मिलिलिटरका स्यानिटाइजर ५८ किरेटसमेत प्रहरीले बरामद गरेको हो।

यसैगरी सुमन लामाको समिप इन्टरप्राइजेज प्रालिबाट बिनाइजाजत उत्पादन गरिएका ५ लिटरका २ सय ९५ ग्यालिन गरी १ हजार ४ सय ७५ लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ।

उनीहरूउपर थप अनुसन्धान भइरहेको उक्त महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here