नेकपा एमालेले पार्टीका नेता तथा विघटित प्रतिनिधिसभाका थप १२ जना सदस्यलाई स्पष्टीकरण सोधेको छ।

काठमाडाैं : सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण सोधिएका नेताहरु घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन,मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

उनीहरु संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने १ सय ४६ जना मध्येकै हुन्।

स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजै बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो। तर उनीहरुको जवाफ आएको थिएन। यसैबीच बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ। अन्यथा उनको पद जानेछ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here