सर्लाही : ईश्वरपुर नगरपालिकाका मेयरसहित ५८ जनामा कोरोना पुष्टि भएको छ।

जेठ ६ गते नगरपालिकाको ईश्वरपुर बर्थिङ सेन्टरमा १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएको थियो।

जसमध्ये ५८ जनाको कोभिड रिपोर्ट पोजेटिभ भएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख मनोज देवकोटा पनि संक्रमित भएका हुन्। मेयरका साथै नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, वडासदस्य, नगर क्षेत्रभित्रका विभिन्न बैंकका कर्मचारी तथा व्यापारीहरूको रिपोर्ट पनि पोजेटिभ आएको मेयर देवकोटाले बताए।

साथै नगरपालिकाले थप संक्रमण फैलिन नदिन ईश्वरपुर नगरपालिकालाई यही जेठ ११, १२, १३ गतेसम्म ७२ घण्टा सिल गर्ने निर्णय गरिएको छ।

यस निर्णयबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमा पनि मागेको छ।

साथै विभिन्न कार्यको सिलसिलामा आफूसँग सम्पर्कमा रहेका सबैलाई कन्ट्याक्ट ट्रेसिङका लागि स्वाब परीक्षण गराएर रिपोर्ट नआएसम्म होम क्वारेन्टाइनमा रहन पनि मेयर देवकोटाले आग्रह गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here