सर्लाही : कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि महोत्तरीको एउटा गाउँलाई सिल गरिएको छ।

महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेका थिए। यति धेरै संक्रमित भेटिएपछि आज बिहान नगरपालिकाको वडा नम्बर ४ लाई सिल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद भट्टराईका अनुसार वडा नम्बर ४ रामनगर बिर्तागाउँमा ५० भन्दा बढी सक्रिय संक्रमित फेला परेका छन्।

सो गाउँमा आजदेखि बाहिरबाट कुनै पनि व्यक्तिको प्रवेश निषेध गरिएको छ भने बाहिर आउजाउमा समेत पूर्ण रूपमा प्रतिबन्ध लगाइएको प्रजिअ भट्टराईले बताए।

महोत्तरीमा हाल तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको छ।

यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो। र, जेठ १ देखि जेठ १० गते मध्यरातसम्म दोस्रो पटकको निषधाज्ञा अवधि थियो।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन्। निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँड्डुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा जनाइएको छ।

भंगाहा नगरपालिका-४ रामनगरका एउटै बस्तीमा पछिल्लो दुई साताभित्र १३ जनाको मृत्यु भएको थियो। निषेधाज्ञा र महामारीको डरले स्थानीय छरछिमेक मृत्यु हुँदासमेत उनीहरूको घरमा दाहसंस्कारमा सामेल हुन छोडेका छन्।

भंगाहा नगरपालिका वडा नं ४ का अध्यक्ष अशोकुमार महतोले बस्तीमा अहिले पनि बिरामी संख्या बढिरहेका जनाएका छन्।

वडाध्यक्ष महतोले गाउँमा कोरोना परीक्षणका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग सम्पर्क गरिरहेको बताएका छन्। उनले भने, ‘सबैतिर महामारीको चपेटा छ। प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here