बोक्सीको आरोपमा ज्याला मजदुरी गर्ने महिलालाई स्थानीयले कुटे, ओछ्यानमा थला परिन् महिल

बोक्सीको आरोपमा राजधानीमै एक महिलामाथि निर्घात कुटपिट भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहराबस्तीमा झारफुक र ज्याला मजदुरी गर्दै आएकी मुना खनाललाई शनिबार बोक्सी आरोपमा केही मानिसले सामूहिक रूपमा निर्घात कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते भएकी खनाल हाल मनोहराबस्तीस्थित टहरामा नै बसिरहेकी छिन। शरीरभरी निलडाम भएकी उनी मुन्टो चलाउनसमेत नभएको बताउँछिन्। पीडित खनालको टाउको काँध, ढाड, कम्मर र खुट्टामा चोट तथा निलडाम छ।

उनलाई हाल दुई जनाले बसाइदिन र सुताइदिनुपर्ने अवस्था छ। आर्थिक अवस्था कमजोर भएको र कुटपिटका क्रममा आफूसँग भएको केहीरकम समेत हराएकाले उपचार गराउन नसकिएको उनले बताइन्।

पीडित महिलाका अनुसार सोही बस्तीमा बस्ने फूलमाया भन्ने महिला केही समयदेखि काम्ने र बरबराउनेलगायत समस्याले ग्रसित थिइन्। उनलाई अस्पतालमा लगेर उपचार गराउँदासमेत निको नभएपछि झारफुकको लागि खनालसमक्ष ल्याइएको थियो।

फूलमायाका विदेशमा रहेका पतिले समेत उपचार गरिदिन आग्रह गरेपछि आफूले फूलमायाको उपचार गरेको खनालले बताइन्। आफ्नो झारफुकबाट फूलमायाको रोग निको हुँदै गएको खनालको दाबी छ।

सोही क्रममा शनिबार फूलमायाका बुबाले झारफुकको बहानामा फूलमायाको कोठामा बोलाएर आफ्नी छोरीलाई बोक्सी मन्त्र सिकाएर झन आक्रामक बनाउन लागेको आरोप लगाई अन्य मान्छे समेत बोलाएर कुटपिट गरेका खनाल बताउँछिन्।

‘बजारमा सब्जी खरिद गर्न गएकी थिएँ। फूलमायाको बुबाले शनिबार साँझ फोन गरेर बोलायो। म उनको घरमा पुग्ने बित्तिकै हामी ‘जय नारी महिला समूह’का हौं भन्दै एक हुल घरभित्र नै पसेर तैं होइनस् झाँक्री बोक्सी भन्दै कुटपिट गर्न थालें,’ खनालले भनिन्।

पीडित खनालले आफूलाई प्रहरीकै सामुन्ने पनि कुटपिट गरेको बताए। ‘फूलमाया स्वयम्ले मेरो घरभित्र आउने तिमीहरू को हौ भनेर कुटपिट गर्ने समूहलाई बाहिर पठाएपछि प्रहरीलाई खबर गरें,’ उनले भने, ‘प्रहरी आएपछि ढोका खोलेर निस्कन लाग्दा प्रहरीकै सामुन्ने उनीहरूले पुनः कुटपिट गरे।’

पीडित खनालले आफूलाई कुटपिट गर्ने समूहले छोरालाई पनि मार्ने धम्की दिएको आरोप लगाए। उनले भने, ‘छोरोलाई पनि बस्तीमा पसे मार्ने धम्की दिएका छन् आफू अर्को मान्छेको सहायता नभए सुत्न बस्नसम्म पनि सक्दिनँ। दिशापिसाबसमेत ओछ्यानमा नै गर्न बाध्य भएकी छु। सावित्री सुवेदीको आडमा मलाई बोक्सी भनेर कुटपिट गरे। मलाई न्याय चाहियो।’

खनाललाई बोक्सी आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर, अनिल आलेमगर, लक्ष्मी माया, टिचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, संजय बुढाथोकी, म्यारी गुरुङ, गंगा गुरुङलगायत व्यक्तिहरूले कुटपिट गरेको नाम उल्लेख नगर्ने सर्तमा एक प्रत्यक्षदर्शीले बताए। १०र१५ जनाको समूहले खनाललाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेका स्थानीयले बताए।

खनाललाई केटा मान्छेहरूले नै लातैलात्ता र मुक्का हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको स्थानीय माया तामाङले बताइन्। पीडित खनालले आफूलाई झुठा आरोप लगाउँदै केटाहरूले समेत कुटपिट गर्दा पनि न्याय नपाए आत्महत्या गर्न बाध्य हुने बताएको मायाले बताए।

‘कुटपिटबाट पीडित महिला मानसिक रुपमा विक्षप्त भएकी छन्, न्याय नपाए आत्महत्या गर्छु भन्छन्,’ उनले भनिन्।

घटनामा संलग्नलाई कारबाहीका माग गर्दै पीडितका श्रीमानले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरीसमेत दिएका छन्। शनिबारको घटना भए पनि उजुरी मंगलबार मात्र दर्ता भएको स्थानीय मायाले बताइन्।

प्रहरीले भने घटनाको पक्षमा छानबिन भइरहेको र दुवै पक्षलाई उपस्थित गराई छलफल गराउने प्रयास भइरहेको जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here