धनुषा:- बालिका बलात्कार प्रयासको घटना गाउँमा मिलाउन खोजेको भेटिएपछि प्रहरीको कदमपछि आरोपीलाई मुद्दा दर्ता गरिएको छ।

सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताले गाउँमै मिलाउन दबाब दिएका थिए।

सबैला नगरपालिका वडा नं १२ रघुनाथपुर बस्ने तीन जना युवाले बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेका पीडित बालिकाले जनाएकी छन्।

पीडित बालिकाका परिवारले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवाविरुद्ध उजुरी दर्ता गराएका छन्।

जेठ १२ गते दिउँसो खेत गएकी बालिकालाई गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयास गरेको पीडितले बताइन्।

घटनालगत्तै आरोपित तीनै जना युवाहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए।

प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्षसमेत रहेको सबैलाका स्थानीय बासिन्दा सुरेश यादवको अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए।

अध्यक्ष यादवले भने, ‘पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरे। जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरे।’

प्रहरी टोलीले पीडित बालिकाको परिवारजनलाई इलाका प्रहरी कार्यालय सबैला लगेर किटानी जाहेरी दर्ता गराउनुका साथै बालिकाको स्वास्थ्य परीक्षणसमेत गराएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र फरार आरोपीको तदारुकताका साथ खोजतलास भइरहेको इ.प्र.का.सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here