काठमाडाैं : सरकारले काठमाडौंको जडिबुटीदेखि तीनकुनेसम्म सुरूङमार्ग बनाउने भएको छ।

आज बजेट भाषणमार्फत सुरूङ मार्ग बनाउन अर्थमन्त्री विष्णु पाैडेलले १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।

यस्तै सरकारले आर्थिक वर्ष २०७८र७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए ।

यस्तै, २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा(सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए।

केही समयअघि नै तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको थियो।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गरिने बताएका थिए।

तीनकुनेदेखि जडीबुटीसम्म बन्ने करिब आठ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन गरेको थियो।

तीनकुने–जडीबुटी सडकको समानान्तर हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमुनि सुरुङमार्ग निर्माण गर्न अध्ययन अगाडि बढाइएको थियो। सुरुङमार्ग निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण पनि सकारात्मक छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सडक विभागसँग सहकार्य गरेर सडक निर्माण गरिने बताएका थिए।

भौतिक रूपमा पनि सम्भव रहेको बताउँदै उनले विमानस्थलको धावन मार्गबाट नभई सडकको छेउबाट सडक बन्ने हुँदा समस्या नभएको बताएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here