सर्लाही:- सर्लाहीमा जंगली हात्तीले फेरि आतंक मच्चाएको छ।

आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका-१० पोखरीटोलमा चार वटा घर भत्काएको हो।

स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको छ।घरभित्र राखिएको धान र गहुँलगायत अन्न खाइदिएको छ। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।

तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फुटबल मैदानको पोल समेत उखेलिदिएको छ।

गाउँमा जंगली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका लालबन्दी नगरपालिका-१० का वडाध्यक्ष तोपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गएको ३ गते मात्र १० नम्बर वडामा हात्तीले ६ वटा घरमा क्षति पुर्‍याएको थियो। एक साताअघि हरिवन नगरपालिका-१ चापिनीमा पनि एक घरमा क्षति पुर्‍याएको थियो।

अहिले हात्तीको समूह हरिवन नगरपालिकाको चुरे क्षेत्र र लालबन्दी नगरपालिकाको बागवानी र वन क्षेत्रमा देखापर्ने गरेको स्थानीयवासीले बताएका छन्‌।

वडाध्यक्ष श्रेष्ठले क्षतिपूर्ति र हात्ती नियन्त्रणका लागि पटक पटक पहल हुँदा समेत सम्बन्धित निकायको ध्यान नगएको आरोप लगाए।

हात्तीको आक्रमणबाट तीन वर्ष पहिले यसै वडाका एक स्थानीयले ज्यान गुमाएका थिए।

मानिसहरूले हात्तीलाई जिस्क्याएर आतंकित बनाइरहेकाले बेला-बेलामा मानव बस्तीमा पसेर क्षति गरेको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव देवले तर्क गरे। उनले हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए।

सर्लाहीमा महिनौंदेखि हात्ती आतंक नरोकिँदा सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाको वन क्षेत्र छेउछाउ घर भएका स्थानीयवासी त्रासमा रहने गरेका छन्‌।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here