काठमाडाैं : बिनापुष्टि समाचार लेख्ने १० वटा संचारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया बढाएको छ।

मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेकै अवस्थामा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको भनेर समाचार प्रकाशित गर्ने ती अनलाइनविरुद्ध काउन्सिलले आज पत्र काटेको हो।

थापाको २०७८ जेठ १८ गते मंगलबार अपराह्न ४ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । तर उनको निधनपूर्व २०७८ जेठ १८ गते दिउँसो १ः३० बजे नै बिनाआधार अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए । लगत्तै काउन्सिलले तथ्यहीन समाचार छाप्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

आथिकारिक संस्था वा व्यक्तिहरूबाट पुष्टिबेगर पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी मानिसको जीवन र स्वास्थ्यजस्तो संवेदनशील विषयमा तथ्यहीन समाचार लेख्ने १० अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पत्र काटेको प्रेस काउन्सिल नेपालले जनाएको छ।

‘आधिकारिक संस्था वा व्यक्तिहरूबाट समेत पुष्टि नभएको अवस्थामा पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी स्वास्थ्यजस्तो विषयमा हल्ला अनुमानको भरमा तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण भई पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको छ,’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विगतमा पनि व्यक्तिहरूको मृत्युको बारेमा पटक पटक नेपाली पत्रकार र सञ्चारमाध्यमले यस्तै गलत समाचार लेख्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका थिए । काउन्सिलले फास्टभन्दा फ्याक्टमा ध्यान दिन सम्पूर्ण सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here