सर्लाही:- महोत्तरीमा एक नवविवाहिता महिला दाइजोकै निहुँमा प्रताडित भएकी छन्।

बिहे भएको एक महिना नबित्दै दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नदिएको भन्दै महोत्तरीकी एक नवविवाहिता महिलालाई चरम यातना दिएको घटनाबारे प्रहरीमा उजुरी परेको छ।

अमृताले आफ्नो श्रीमान् २४ वर्षीय जोगनारायण साह, ससुरा ५० वर्षीय अनुप साह, ३० वर्षीय जेठाजु सत्यनारायण साह, २६ वर्षीय जेठाजु भागनारायण साह, २० वर्षीय देवर सत्रोहन साह र ४५ वर्षीया सासू रजखोरबालीलाई विपक्षी बनाई न्यायका लागि सर्लाहीका शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाही माग गर्दै जेठ २४ गते उजुरी दर्ता गराएकी छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरका अनुसार कुटपिटमा संग्लन ससुरा अनुप साहलाई पक्राउ गरिएको छ। अन्य सदस्य भने फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

अमृता यसरी परिन् यातनाको चपेटामा

महोत्तरीको सम्सी गाउँपालिका ६ सम्सीबजार २१ वर्षीया अमृता साहको वैशाख १३ गते सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. २ बस्ने २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो। विवाह भएको चार दिनदेखि नै दाइजो कम दिएको भन्दै श्रीमान सहित परिवारका सदस्यहरूले उनलाई विभिन्न किसिमले मासिक यातनाको साथै कुटपिटसमेत गर्न थालेका थिए।

वैशाख २७ गतेका दिन बिहे भएको आफ्नो घरमा रहेकी अमृतालाई सासू लगायतले खाना पकाउने जिम्मेवारी दिएका थिए। सासूको आदेशानुसार भान्सा घरमा रहेकी अमृताले खाना पकाउने सामग्री माग गरेपछि विवाद शुरु भएको अमृताले सुनाइन्।

पीडित अमृताले संचारकर्मीसँग कुराकानीको क्रममा भनिन्, ‘सासूसँग खाना के पकाउने सोध्दा सासू एक्कासि मसँग झर्किंदै तेरो बाबु आमाले माइतीघरबाट जे दिएर पठाएको छ त्यही पका, यहाँ केही छैन, खाना पकाउन सरसामान, राइसकुकर, ग्यास सिलिण्डर, टिभी, फ्रिज केही छैन। जा सबै कुरा माइतीबाट लिएर आइज।’

आफूलाई परिवारले थप दाइजो ल्याउन दबाब दिन थालेको भनेर रुँदै उनले भनिन्, ‘घरमा रहेका श्रीमान जोग नारायणले पनि आमाको कुरा सुनेर एक्कासि आएर मलाई लछारपछार गर्दै कुटपिट गरे।’ त्यस दिनदेखि लगातार सधैं कुनै न कुनै बहानामा आफूलाई श्रीमानलगायत अन्य परिवारका सदस्यले गाली ,बेइज्जती गर्नुका साथै कुटपिट गर्न थालेका र घरबाट निस्किन दबाब दिन थालेको अमृताले बताइन्।

विवाह भएको चार दिनपछि दुल्हन फर्काउने परम्पराअनुसार उनी माइत गएकी थिइन्। केही दिन माइतीको बसाइपछि उनी घर फर्किन। त्यसपछि उनीमाथि  दुर्व्यवहार, यातना र कुटपिटको सिलसिला झन् बढेको अमृताले बताइन्।

अमृताले भनिन्, ‘पछिल्लो पटक जेठ १२ गते मलाई ज्यान मार्ने उद्देश्यले नै निर्घात कुटपिट गरेर घाइते बनाएर, म बहोस् भएँ। २–३ दिनसम्म मेरो होस ठेगान थिएन। र जब मेरो अवस्था गम्भीर भयो अनि मलाई जेठ १६ गते माइती ल्याएर श्रीमान् जोगनारायणले छोडेर भागे।’

अहिले कुटपिटबाट घाइते भएकी अमृतालाई माइती पक्षले उपचार गराइरहेको छ। सर्लाहीको जिल्ला अस्पताल मलंगवामा उपचारपछि अहिले स्वास्थ्य अवस्थामा सुधार भएको पीडित परिवारजनले जनाएका छन्।

उनको विवाहमा नगद तीन लाख ७५ हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिइएको थियो। तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छन्।

अमृता भन्छिन्, ‘शुरुमा त खाना पकाउने ग्यास सिलिण्डर र चुल्होको ल्याउन दबाब दिन्थे। पछि छिमेकीलाई १५ लाख नगद, फ्रिज, फर्निचर, सुनचाँदी दाइजो दिएको तर तेरो बाउले के पो दियो भनेर विभिन्न किसिमको बहाना बनाई मानसिक यातना र कुटपिट गर्ने गर्थ्यो। फेरि अर्को दिन तेरो बुवाको ८ वटा सटरको भाडा आउँछ पैसा, चामलजस्ता कुरा डिमान्ड गर्न थाले। अनि मैले माग्दिनँ भनेपछि कुटपिट गर्न थाले। प्रायः दैनिक तिनिहरूको मलाई कुटपिट गर्ने रुटिन नै बन्यो। म सहँदै गइराथें। पछि श्रीमानले मेरो घरबाट निस्की, म अर्को बिहे गर्छु, त मलाई मन परेको छैन भन्न थाले। तर पनि म सबथोक सहँदै बसिरहेको थिएँ।’

‘लागुऔषधको कुलतमा फसेका श्रीमान् जोगनारायणले एक दिन नशाको लतमा आएर पलङमा सुताएर चारै कुनामा हात, खुट्टा बाँधी र मुखमा कपडा कोची मरनासन्न हुने गरी कुटपिट गरे र प्राय यसरी कुटिरहन्थे’, अमृताले सुनाइन्।

अमृताले आफूलाई एउटै कोठामा हप्ता दिन बन्द गरेर राख्ने गरेको, कोठामा बाहिरबाट ताल्चा लगाई बन्द गरेर राख्ने गरेको समेत सुनाइन्।

पीडित अमृताको बुवा रामअश्रे साहले चरम यातना र कुटपिटबाट अर्धचेत अवस्थामा रहेकी छोरी मर्छ कि भन्ने डरले, श्रीमान जोगनारायण र उनका भाइ मोटरसाइकलमा ल्याएर अमृतालाई माइतीघरको सडक छेउमा छोडेर भाग्न खोजेको बताए।

उनले भने, ‘भाग्न खोजेपछि मोटरसाइकलको साँचो खोसेर उनलाई रोकें। तर पछि बुवा पनि आउनुहुन्छ एकछिन बजारतिरबाट आउँछु भनेर मेरो १२ वर्षीय छोरा दिपक साह (अमृताको भाइ)को साथ लगाएर पठाए। तर उनीहरूले आफ्नो छोरालाई मोटरसाइकलमा बसाएर अपहरण शैलीमा लान खोजे। तर बाटोमा बाख्राको झुन्डहरू आएर बाटो अवरुद्ध हुँदा मोटरसाइकल रोक्नुपरेपछि फुत्केर भाग्न सफल भएँ।’

अमृताको भाइ दीपकले भने, ‘बाख्राहरू आएर मोटरसाइकल स्लो भएर रोकेपछि म कुदेर भागे।’

घाइते अमृताको सम्सीकै स्थानीय क्लिनिकमा उपचार गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचार सर्लाहीको जिल्ला अस्पताल मलंगवामा गरेर अहिले घर फर्किएको बुवा राम अश्रेले बताए। छोरीको अवस्था निकै नाजुक रहेको उपचार भइरहेको बुवा रामअश्रेले बताए।

रामअश्रेले छोरीलाई न्याय दिलाउन पहल गरिदिन मानवअधिकारकर्मी, संचाकर्मीसँग आग्रह गरेका छन्। अमृताले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गराएकी छिन्।

दोषीलाई कारबाही हुन्छ : सर्लाही प्रहरी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाको सम्बन्धमा प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले घटनामा संलग्न दोषीलाई कारबाही गर्न पीडितको पक्षबाट उजुरी दर्ता भइसकेको बताए। उनले भने, ‘उजुरी दर्ता भएकोले दोषी चाँडै नै प्रहरीको फन्दामा आउने र कानुनअनुसार कारबाही हुन्छ।’

प्रहरी उपरीक्षक राठोरले उजुरीलगत्तै पीडक अमृताको ससुरा अनुप साहलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए। उनले हरिपूर्वाका प्रहरी चौकीले अनुप साहलाई घरबाट पक्राउ गरे पनि उजुरीबारे थाहा पाएर परिवारका अन्य सदस्यहरू फरार रहेका र खोजतलास जारी रहेको बताए।

घरेलु हिंसा सम्बन्धी कसुर र सजायको के छ सजायको व्यवस्था

उपचारको तिर्नु‍पर्ने

व्यवस्था घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ संशोधन गर्ने ऐन, २०७५  अनुसार घरेलु हिंसाबाट पीडित व्यक्तिलाई तत्काल उपचार गराउँदा लागेको खर्च पीडकले व्यहोर्नुपर्नेछ र कुनै कारणले पीडकले त्यस्तो खर्च तत्काल उपलब्ध गराउन नसक्ने भएमा सम्बन्धित स्थानीय तहले तत्काल त्यस्तो खर्च उपलब्ध गराई  त्यस्तो रकम पीडकबाट असुल गर्न वा गराउनु पर्नेछ।

घरेलु हिंसाबाट पीडित व्यक्ति मानसिक वा शारीरिक रुपमा अशक्त भएको कारणले अस्पतालमा उपचार उराउनुपरे उपचार गराउँदा लागेको सम्पूर्ण खर्च पीडकले व्यहोर्नुपर्नेछ। पीडकले त्यस्तो खर्च तत्काल उपलब्ध गराउन नसक्ने भएमा अदालतले सम्बन्धित स्थानीय तह सेवा केन्द्रबाट पीडितले त्यस्तो उपचार रकम पाउने गरी आदेश गर्न सक्नेछ र त्यसरी उपलब्ध गराइएको रकम पीडकबाट सरकारी बाँकीसरह असुल गर्नु वा गराउनु पर्नेछ।

पीडित व्यक्तिलाई घरेलु हिंसाको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडक तथा पीडितको आर्थिक तथा सामाजिक हैसियत समेतलाई विचार गरी अदालतले पीडकबाट मनासिब माफिकको क्षतिपूर्ति भराइ दिन सक्नेछ।

सजाय सम्बन्धी व्यवस्था

कसैले अङ्गभङ्ग गरी वा तेजवा वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराई वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पारिदिने गरी शारीरिक यातना वा यौनजन्य यातना सम्बन्धी घरेलु हिंसाको कसूर गरेमा त्यस्तो व्यक्तिलाई प्रचलित कानुनबमोजिम सजाय हुनेछ। यसबाहेक अन्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।

घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ। घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुनेछ।

सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले आफ्नो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिला विरुद्ध यस ऐन बमोजिमको कसुर गरेमा निजलाई थप १० प्रतिशत सजाय हुनेछ।

अदालतबाट दिएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना वा चार महिनासम्म कैद वा दुवै सजाय हुनेछ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here