सर्लाही : धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै उपप्रधानमन्त्री राजेन्द्र महतोले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

घटनास्थल उपप्रधानमन्त्री महतोको निर्वाचन क्षेत्र धनुषा निर्वाचन क्षेत्र नं ३ मुखियापट्टी मुसहरनियाँ हो।

उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा सो घटनाले आफूलाई मर्माहत तुल्याएको जनाउँदै दुर्घटनाबारे थाहा पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्य तथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताए । प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको जनाइएको छ।

पोखरीमा डुबेर आज दिउँसो एकै पटक पाँच जना बालिकाको मृत्यु भएको थियो। मुसहरनिया-६ लक्ष्मणपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर उनीहरुको मृत्यु हो।

दिउँसो १२ बजेको समयमा घर नजिकैको पाेखरीमा नुहाउन गएका बालिकाहरुकाे डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चाँदनी र उतिम साह तेलीकी १२ वर्षीया छाेरी ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here