आफैंले केही गरी खान भनी उनले सिलाई कटाइको तालिम गरिन्। कोठामा मसिन पनि राखिन्। तर‚ बिग्रियो। बिग्रिएको सामान किन्न जाँदा लडेर उनको दाहिने खुट्टा भाँचियो। कसैको सेकतापमा नरहेकी उनी बिस्तारामा सुतिरहन्छिन्। काम गरेर खुवाउनले कल्पना नै ओछ्यानमा परेपछि छोराछोरीले भोकले रोइरहन्छन्, कोठामा खानेकुरा केही छैन।

‘कोठाको भाडा दुई हजार हो। खाने रासन केही छैन। न श्रीमानको अत्तोपत्तो छ, न मेरो ज्यान नै चलेको छ। छोराछोरी भोकले रुँदा म सिरकले मुख ढाकेर रुन्छु। म लाचार आमा भएकी छु‚’ कल्पना भन्छिन्, ‘कोठामा रासन भए पनि छिमेकी पकाइदिनुहुन्थ्यो, पकाउने नै केही नभएपछि कसरी बाँच्ने हो? यही बेलामा लकडाउन छ, महँगो उस्तै।’ कल्पनाको हालत देखेका छिमेकी पनि गहभरि आँसु पार्दै उनको कहानी बताउँछन्। तर‚ सधैँ सहयोग गर्न सक्ने अवस्था छिमेकीकै पनि छैन।

सोही टोलमा रहेका देवीराम परियारको पनि दाहिने हात भाँचिएको छ। उमेरले ५४ वर्ष पुगेका उनको घरमा कमाउने भनेको उनी मात्र हुन्। घरमा दुई छोरा, एक छोरी र श्रीमती छन्। तर भान्सामा हेर्दा अन्नपात केही छैन।

निषेधाज्ञा पूर्व सामान्य पसलमा एउटा मेसिन राखेर कपडा सिलाउने काम गर्दै आएकोमा अहिले त्यही ठाउँको भाडा तिर्ने हैसियत छैन। कसैको सहारामा नरहेको उक्त परिवारका लागि कमाउनेकै हात भाँचिएपछि भोक खट्नुभन्दा काल आएको उत्तम जस्तो हुन थालेको छ। ‘हे भगवान्! यस्तोसम्म हालत पनि हुने रहेछ। खान नपाएर मरिने भइयो। भोक लागेर रुँदै बस्नुभन्दा त बरु काल नै आएको जाति हुने रहेछ जस्तो लाग्न थाल्यो‚’ देवीराम भन्छन्, ‘भएको ऋण उस्तै छ, रासन दोकानको ऋण दिन नसक्दा साहुले अन्न दिने कुरै भएन।’ निषेधाज्ञा बीचमा यो परिवारले धेरै पटक खोले खाएर छाक टारेको छ।

यस्तै पीडामा छिन सोही ठाउँकी उमा परियार। कमाउन भन्दै विदेशिएका श्रीमान् सम्पर्कमा नरहेको चार वर्ष पुगेको छ। घरमा सासू, आफू र छोरा छन्। उमा र छोरा विवेकको मजदुरीको भरमा घर चल्दै आएको भए पनि निषेधाज्ञा सुरु भएपछि विवेकले काम गर्ने होटलमा ६ महिनादेखि काम पाएका छैनन्। यही बेलामा उमालाई उच्च रक्तचापले सतायो। उनी आफैं पनि काम गर्न जान नसक्ने भएकी छिन्। बिहान बेलुका छाक टार्ने अन्नको उपाय नहुँदा पानी पिएर भोक मार्नुपर्ने अवस्था आएको उमा बताउँछिन्।

‘लकडाउनमा छोराको जागिर गयो। मलाई प्रेसरले हानो। अहिले काममा निस्कन नसक्ने भएकी छु। दिनकै धेरै औषधि खानुपर्छ। भात खाने पैसा नभएको बेलामा औषधि खान परैको कुरा भयो। फेरि प्रेसरले कहिले ढलाउँछ‚’ उमा भन्छिन्, ‘छोराले तिर्ला नि भन्ने आसामा चिनेको औषधि पसलले र रासन पसलले अहिलेसम्म त धानिदिएका छन्। त्यही पनि २० हजार नाघेको होला अब त कसरी पत्याउलान् र खै?’

सोही टोलका सन्तोष सुनारको घरमा अन्नपात केही नभएका कारण धेरै पटक खोले खाएर सुतेको आफूले देखेको छिमेकी सब्बु परियार बताउँछिन्। कोरोना कहरको पहिलो लहरमा नाम कमाउन सबैले राहत बाँडेका फोटो फेसबुकमा हालेको भए पनि दोस्रो लहरमा दुःखीलाई कसैले नसम्झेको उनको गुनासो छ।

‘अघिल्लो वर्ष तर सरकारी र गैरसरकारी निकायले पनि राहत बाँड्दै फेसबुकमा फोटो आलेको देखिन्थ्यो। अहिले मान्छे उस्तै हालतमा हुँ समेत कसैले रुपैयाँको सहयोग गरेको देखिएन। यहाँका मान्छे कसरी बाँचेका छन् भन्ने मेरा आँखाले देखेका छन्, सुनाएर त्यो दुःख नै देखिन्न‚’ उनले भनिन, ‘हरेक दुःखको बेलामा साँच्चिकै पीडामा परेका मान्छेले त राहत र सहयोग कमैले पाउँछन्। यस्तो हालतमा बाँचिरहेकाहरूलाई सहयोग गर्ने मनकारीलाई भगवानले कति आशीर्वाद दिँदा हुन्।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here