सर्लाही:- गत माघदेखि वैशाखसम्म चलेको कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य कर्मचारी र जनप्रतिनिधि खोप लगाउन आग्रह गर्दै लक्षित व्यक्तिको घरघरमै पुगे। तर, धेरैले खोपमाथि विश्वास गरेनन्। त्यसैले कमले मात्रै लगाए।

अहिले सञ्चालित तेस्रो चरणको कार्यक्रममा भने नागरिकहरु उत्साहित भएर खोप लगाइरहेका छन्। फुङलिङ नगरपालिकाकी–७४ वर्षीया हर्कमाया लिम्बु एक घण्टाको बाटो हिँडेर खोप लगाउन जिल्ला अस्पताल पुगिन्। लाइनमा बसेर खोप लगाइन्। अब कोरोना भाइरसले आक्रमण गर्दैन भन्ने विश्वा लागेको उनले बताइन्।

फुङलिङकै ५८ वर्षीय चन्द्र गुरुङले पनि शुक्रबार दोखु स्वास्थ्य चौकीमा भेरोसिल खोप लगाए। खोप लगाएपछि आफूमा आत्मविश्वास बढेको उनको भनाई छ। ‘महामारीका कारण धेरै समय घरबाहिर पनि निस्कन पाइएन,’ उनले भने, ‘अब त खोप लगाइयो आत्मविश्वास बढेको छ।’

कोरोनाको दोस्रो लहर सुरु भए यता ताप्लेजुङमा १२ जना संक्रमितको मृत्यु भइसकेको छ। ९०० जनाभन्दा बढी संक्रमित भइसकेका छन्। सुरुमा सदरमुकाम फुङलिङमा देखिएको संक्रमण पछिल्लो समय गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना पोजेटिभ देखिएको छ। यसले गर्दा पनि नागरिकको खोपमा चासो बढेको हो।

चीनले अनुदानमा दिएको भेरोसिल खोप ताप्लेजुङमा १ हजार ८५१ जनालाई लगाउने कार्यक्रम छ। बुधबारदेखि शुक्रबारसम्म फुङलिङ नगरपालिकामा लगाइएको र जेठ ३० गते ८ वटै गाउँपालिकामा एकसाथ लगाउने कार्यक्रम छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्यांक अधिकृत हेमराज कठायतका अनुसार ५८४ जनाले भेरोसेल खोप लगाएका छन्।

पहिले खोपबारे फैलाइएका विभिन्न नकारात्मक हल्लाका कारण पनि नागरिकले चासो दिएनन्। अहिले खोपको महत्व सबैले बुझेकाले उत्साहजनक सहभागिता देखिएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन्। ‘पहिलो र दास्रो चरणमा कोभिशिल्ड खोप लगाउनुस् भन्दै हामी घर घरसम्म पनि पुग्यौँ तर धेरैले लगाउने चासो देखाउनु भएन,’ उनले भनिन्, ‘अहिले अत्याधिक चाप छ।’

सरकारले चीनसँग सीमा जोडिएका स्थानीय तहका १८ वर्ष उमेरमाथिका सबैलाई यही खोप दिने सम्झौता गरेको छ। यहाँको फक्ताङ्लुङ गाउँपालिकाले चीनको सीमालाई छोएको छ। त्यहाँका ६ हजार ७९६ जनालाई खोप अपुग भएको छ। त्यस्तै कोभिसिल्ड खोपको दुवै मात्रा लगाउनेको संख्या २ हजार १५९ छ । बाँकी १२ हजार ४५ जना पनि दोस्रो डोजको प्रतीक्षामा छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here