धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर रक्सी नियन्त्रणमा लिएका थिए। मदिरा प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रहरीमाथि हातपात, ढुङ्गा प्रहार तथा दुर्व्यवहार गरेको प्रहरी निरीक्षक सुवेदीले बताए।

करिब डेढ सय जनाको आक्रमणबाट ना. १ झ. १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुगेको छ प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ। उनीहरुले प्रहरी निरीक्षक सुवेदीसहित केही प्रहरीमाथि मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ खन्याएका थिए।

घटनामा संलग्न धारापानीका सुशीला थापा, लक्ष्मी साह र श्रवण कापरलाई दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सुशीलाको घरबाट ७६५ लिटर कच्चा पदार्थ, माया आलेको घरबाट ६० लिटर तयारी मदिरा र ९० लिटर कच्चा पदार्थ तथा बेचु मगरको घरबाट १९५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here