सर्लाही:- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विषाक्त मदिरा खाएर चार दिनमा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना भारतीय नागरिक रहेका जनाइएको छ।

नेपाल–भारत सीमाबाट पौने दुई किलोमिटर उत्तर पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा उनीहरूले मदिरा खाएका प्रहरीको अनुसन्धानबाट खुलेको छ।

चिकित्सकले मृतक सबैले विषाक्त घरेलु मदिरा सेवन गरेका कारण मृत्यु भएको आशंका गरेका छन्।

जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाका अनुसार मदिरा सेवनबाटै मृत्यु भएको आशंका गरिएपनि मृत्युको कारण अझै पत्ता लागेको छैन।

मृत्युबारे बुझ्न मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडाैंमा पठाउने तयारी गरिएको डा. झाले बताए।

मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपालिकाका वडा नं ५ का ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी,५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास,२४ वर्षीय बलिन्द्र दास, भारत उत्तर प्रदेशका ५५ वर्षीय शिवसागर निसाद, ३५ वर्षीय दाताराम निसाद, र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् ।

मृतक भारतीय नागरिकहरु स्थानीय चन्दन इँटा उद्योग पडरियामा काम गर्ने मजदुर हुन्।

ब्रह्मपुरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतका अनुसार तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार (आज) बिहान मृत्यु भएको हो।

तीन स्थानीयको गाउँमै र भारतीय नागरिकको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको र दुई जना बिरामीको जिल्ला अस्पताल मलंगवामा र एक जनाको श्रीराम अस्पताल मलंगवामा उपचार चलिरहेको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले बताए।

ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको बताए।

आठ जनाको मृत्यु भएपछि सोमबार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य संगठन (डब्लुएजओ) बाट डा. किरण बाँस्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले १३ जनाको कोरोना परीक्षण गरेका थिए।

जहाँ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। उनीहरु सवैको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here