सर्लाही:- कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ महिना एक लाख ७० हजार आठ सय ६३ मा कोरोना संक्रमण हुँदा तीन हजार सात सय ९० ले ज्यान गुमाएका छन्।

सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा आठ हजार चार सय ६५ को मृत्यु भएको छ । त्यसमा पनि ५ जेठमा सर्वाधिक दुई सय ४६ जनाले ज्यान गुमाएका थिए । जेठ महिनामा मात्रै कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या कुल मृत्युको करिब ४५ प्रतिशत हो।

सोमबारको तथ्यांकअनुसार हालसम्म ६ लाख १० हजार पाँच सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब ३३ प्रतिशत काठमाडौं जिल्लावासी हुन् । काठमाडौंमा मात्रै एक लाख ९९ हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

वैशाखको अन्तिम साताबाट तीव्र गतिमा बढ्दै गएर जेठको पहिलो साता नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो। त्यस समय संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो। हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको छ। सोमबारको तथ्यांकअनुसार १४ हजार आठ सय १९ को परीक्षण गरिएकोमा दुई हजार नौ सय १८ मा संक्रमण पुष्टि भएको छ, जुन १९.६९ प्रतिशत हो।

वैशाख महिनामा एक लाख ५८ हजार ६ सय ७४ कोरोना संक्रमण हुँदा एक हजार ६ सय ११ को मृत्यु भएको थियो। सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा संक्रमणदर घट्न थालेपछि मंगलबारदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ। तर, संक्रमण घटे पनि संक्रमणदर अझै २० प्रतिशत भएकाले त्यो जोखिमपूर्ण नै हुने चिकित्सकहरू बताउँछन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here