सर्लाही:- गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौ गाउँहरूमा खानेपानी हाहाकार भएको छ।

नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँहरूमा पानीको समस्या चर्कंदै गएको हो।

यहाँका मुहान धमाधम सुकेका छन्। स्थानीयवासीहरू धारा र कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हातेपाइप र पोखरी लगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासीहरू बताउँछन्।

‘पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो,’ पुष्पवलपुरका हिरण लामाले भने, ‘नुहाउने र सरसफाइ त टाढाको विषय भयो।’ नुहाउनका लागि तीन घण्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए। लामाका अनुसार पानी अभाव कै कारण खुला शौच बढेको छ। लुगा, धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ।

लक्ष्मी निवासका दीपेन्द्र सिंहले भने, ‘यस ठाउँमा झण्डै १० वटा इनार छन्। तर, सातवटा इनारमा हिजो आज पानी पाउन छोडिसक्यो। तीनवटा इनारमा मात्र पानी छ। त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ। ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्नेगर्छ।’

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माको अनुसार अत्यधिक दोहनले चुरे क्षेत्र विनाशको कारण पानीको मुहानहरू सुक्न थालेको हो। उनका अनुसार राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ।

त्यसैगरी, जनकपुरको पीडारीचोक, रमानन्द चोक, किशोरी नगर र आनन्द नगर लगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन्। १०० देखि २०० फिटसम्म कल पुरै सुकेको छ भने २ सय ५० फिट र त्यो भन्दा बढी गाडिएका कलहरूमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतीशलाल कर्णले बताए।

विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिएपनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिन्थ्यो। तर, पछिल्लो तीन चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारणहरू समस्यामा परेका छन्।

जनकपुरधाम किशोरीनगरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र झाका अनुसार १५-२० वर्ष अगाडी १५० फिटको गहिराइमा जडान गरिएका चापाकलहरूमा सहजै पानी आउने गर्दथ्यो। अहिले ४०० फिटको गहिराइमा पनि पानी आउन छोडेको बताए। चापाकल सुक्नुको साथै विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उनको भनाइ छ।

मोटरले पनि तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताए। ‘दिनको समयमा मोटरले पानी तान्न छोडेको छ, मध्यरातमा मोटर चलाउँछौँ। तर, छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन,’ साहले भने, ‘जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएको छैनन्।’

जेठ सकिन लाग्दा पनि राम्रो वर्षा नभएकोले पानीका स्रोतहरू चाँडै सुक्न थालेको बताइएको छ। वन जंगल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टिका कारण पानीको मुहान सुक्दै गएको बुढापाखाहरूको कथन रहेको छ।

गर्मी मौसममा जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु हो।

सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयका इञ्जिनियर विजय यादवले बताए। खानेपानीको समस्याबाट बच्न पानी संचितितर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ।

चुरेविज्ञ डा. विजय सिंह दनुवारले चुरे जंगलको फडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन जस्ता कार्यले पानीको समस्या निम्त्याएको बताए। उनले भने, ‘पानीको अत्यधिक माग रहेकोले त्यसलाई नियन्त्रण गर्न जमिनमा पानीको रिचार्ज बढाउनु पर्ने हुन्छ।’ सिंहका अनुसार यदि सागरनाथ वन परियोजना यस क्षेत्रमा नभएको भए यतिखेर पानीका सबै मुहान सुकिसकेको हुनेथियो। उनले भने, ‘यस्तै किसिमको चुरे क्षेत्रमा दिगो वन परियोजनाहरूको आवश्यक्ता छ।’उनले पानी संचित गर्न चुरे क्षेत्रमा जलाशयहरू बनाउन सकिए खानेपानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने बताए।

‘यदि चुरेलाई दोहन गरिरहने हो भने पानीको हाहाकारले द्वन्द्व सिर्जना हुन्छ। भावी पुस्तामा पानीका लागि झगडाको बीउ रोपेर मर्नुभन्दा आजैदेखि चुरे उत्खनन हुन नदिने, बोट बिरुवा रोप्ने, आफू बसेको क्षेत्रलाई हराभरा राख्ने र पानीका मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौँ’, उनले भने।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here