सर्लाही:- संखुवासभमा बर-पिपल संरक्षण गर्ने अभियान सञ्चालन गरिएको छ। पछिल्लो समय मासिंदै गएका बर–पिपल संरक्षण गर्ने उद्देश्यले विश्व खडेरीविरुद्ध संघर्ष दिवसका अवसरमा ३०० जोडी बर-पिपल रोपिएको हो।

 

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, संखुवासभाको आयोजनामा बर–पिपल रोपिएका हुन्। प्रचीन इतिहास, धर्म, संस्कृति र परम्पराको रुपमा महत्त्वपूर्ण मानिने बर-पिपल रोपेर निर्माण गरिएका चौताराहरुका झत्किन थालेपछि अभियान चलाएको वन उपभोक्ता महासंघ नेपाल, संखुवासभाकी अध्यक्ष लक्ष्मी चापागाईंले बताइन्।

विकासका नाममा जथाभावी खनिएका सडकले जैविक विविधता तथा वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न मठ-मन्दिर, दोबाटो, चौबाटो र भञ्ज्याङहरुमा चौतारो भएका ठाउँमा वैदिक विधिपूर्वक रोपिएका बर-पिपलहरु मासिन थालेपछि संरक्षण थालिएको उनले बताइन्। जिल्लाका १० वटै स्थानीय तहका ३०० सामुदायिक वनमा बर-पिपल रोपिएको जिल्ला महासंघ संखुवासभाका कार्यक्रम संयोजक रमेश अधिकारीले बताए।

पछिल्लो समय बर-पिपल मासेर कंक्रिटका स्तभ बनाउन थालेपछि बर-पिपल संरक्षणका लागि जिल्ला महासंघको अगुवाई र स्थानीय महासंघको समन्वयमा सामुदायिक वन उपभोक्ता समूहहरुको आयोजनामा बर-पिपल रोप्ने अभियानअन्तर्गत जिल्लाभरि एकैसाथ रोपिएको कार्यक्रम संयोजक अधिकारीले बताए।

परापूर्व कालदेखि नै पुर्खाहरुले धार्मिक आस्था, परोपकार र पुन्य कमाउन भनी सार्वजनिक स्थानमा बर–पिपल रोपेर चौतारा, फलैंचा बनाउने गरेका थिए। ती बर–पिपलको हाँगाविगा पनि काट्ने चलन थिएन। अचेल मान्छेले धर्म छाड्दै गएकाले रुख नै काट्न थालेका बेला बर–पिपल रोप्ने अभियान निकै राम्रो भएको खाँदबारी नगरपालिका–८ का जीवनाथ खनाल बताउँछन्। बर–पिपलले पर्यावरणीय सन्तुलन कायम राख्ने, अत्यधिक अक्सिजन उपार्जन गर्न भएकाले मानव स्वास्थ्यका लागि लाभदायी हुने उनको भनाइ छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here