मीन ब.कार्की,सर्लाही : जंगली हात्तीका कारण केही दिनयता पीडित बनेका सर्लाहीका किसानलाई हात्तीले झनै सताउन थालेको छ।

आज राति जंगली हात्तीले लालबन्दी नगरपालिका-१७ साबिक रानीगञ्ज-२ मा मा केही घरमा क्षति पुर्‍याएको छ।

जंगली हात्तीले स्थानीय कासिराम पाख्रीनको घर, नयाँ बस्तीका पदमबहादुर लामा,बिरबहादुर लामा र फुलनदेवी महतोको, सार्की बुढाको घरमा क्षति पुर्‍याएको वडासदस्य रामबहादुर बम्जनले जानकारी दिए।

जंगली हात्तीले एक दिनअघि मनकामना सामुदायिक वनको कार्यालयको झ्यालढोका भत्काएको थियो।

एक महिनादेखि तीन वटा हात्ती समूह बनाएर रानीगञ्ज, लालबन्दी बागवानी र सागरगरनाथ आसपासको वन क्षेत्रलाई आफ्नो आश्रय स्थल बनाउँदै बसिराखेका स्थानीयले बताएका छन्।

हात्ती दिनभर जंगलमा बस्ने र रातको समयमा बस्तीमा पस्ने गर्दा धेरै स्थानीयको धनसम्पत्तिमा क्षति पुर्‍याइरहेको छ।

सुरुको समयमा शान्त स्वभावमा देखिएको हात्ती पछिल्लो समय अलि आक्रमक देखिँदै गएको स्थानीय बताउँछन्। हात्ती आतंकले रानीगन्ज-२ अन्तर्गत पूर्वपश्चिम राजमार्गभन्दा माथिल्लो बस्तीका नागरिक रातभर निदाउन नसकेको गुनासो गर्छन्।

गाउँ बस्तीमा हात्ती पस्न नदिन रातमा नाङ्लो ठटाउने, पटका पटका पटकाउने थाल ठटाउने जस्ता क्रियाकलाप गर्दै आइरहेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here