काठमाडौं : सामाजिक अभियन्ताका नाममा विभिन्न घटनामा विवादित बनेकी ज्वाला संग्रौलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुस्बु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि संग्रौलासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले संग्रौलासहित उनको समूहका शर्मिला वाइवा र हिमालय उपाध्यायलाई पक्राउ गरिएको बताए।

उक्त कुटपिटको घट्नामा मुछिएका शुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरिएको बस्नेतले जानकारी दिए। संग्रौलाले यसअघि महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक मणिकान्त झासँग पनि लफडा गरेकी थिइन्।

सामाजिक सञ्जाल ट्विटरमा प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर संग्राैलाले अपमान गरेको भिडियो भाइरल भएको थियो।  ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ। भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन्।

भिडियोमा देखिन्छ ‘(इन्सपेक्टरलाई देखाउँदै) उहाँजस्तो हुनुस्। त्यही भएर उहाँको पोजिसन यो छ। हामीलाई पनि कारबाही गर्नुपर्‍यो तर, हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हामी गर्छौं, त्यति हो।’

त्यसपछि प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नू। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’ भिडियोमा देखिन्छ- काँधमा इन्सपेक्टरको फुली लगाएका प्रहरीले हात जोड्दै बिदा माग्छन्।

कानुन पालना गराउन बसेका अर्थात् कानुन उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन खटिएका प्रहरीमाथि, त्यो पनि प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि रंगभेदी व्यवहार भएको भिडियो सार्वजनिक भएपछि यसको सवत्र विरोध भएको थियो।

प्रहरीले जेसुकै गल्ती गरेको भए पनि उसलाई कारबाही गर्ने ठाउँ हुँदाहुँदै रंगभेदी व्यवहार गर्नु गम्भीर अपराध भएको भन्दै यस्तो व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको थियो। नेपाल प्रहरीको आधिकारीक ट्विटर ह्याण्डललाई मेन्सन गर्दै छानबिन गरेर कारबाही माग गरिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here