सर्लाही : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ।

संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको कर मिनाहा गर्न माग गरिएको संघका अध्यक्ष पन्तले बताए।

गत वर्षको लकडाउनदेखि नै पूर्ण सञ्चालन हुन नसकेका होटेल तथा पार्टी प्यालेसहरुले महानगरलाई विभिन्न शीर्षकमा कर तिर्नुपर्ने हुन्छ। महानगरलाई तिर्नुपर्ने होटलको घर कर, घर वहाल कर, व्यवसाय कर र सरसफाई शुल्क मिनाह गर्न माग गरिएको उनको भनाइ छ।

२०७६ चैतदेखि नै लकडाउनकै अवस्था जस्तो छ। सीमा नाका बन्द भएपछि सीमा नजिकको होटल तथा पर्यटन व्यवसाय बन्द छन्। यसको अलावा होटेलमा काम गर्ने श्रमिकहरुलाई पनि खोपको अनिवार्य व्यवस्था गर्न पनि माग गरिएको अध्यक्ष पन्तले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here