काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धादिङमा अभिव्यक्ति दिनु र भोलिपल्टै सर्वोच्चले नवनियुक्त मन्त्रीलाई खारेज गर्नु कतै सेटिङ त होइन भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

साथै उनले प्रचण्डलाई स्यालको पनि संज्ञा दिएका छन्। सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन्।

प्रचण्डलाई इंगित गर्दै, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु। अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ!’

उनले अघि भनेका छन्, ‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो। कसरी त्यो भयो? गम्भीर प्रश्न छ।’

यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको बताएका छन्। रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए।

उनले भने, ‘हिजो पनि केही भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि! राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो।’

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here