सर्लाही : गोरखा जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन्।

कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी  दिए।

‘बिदामा बसेर हाजिर हुनका लागि आएका तर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क नगरी कार्यक्षेत्र गएका रहेछन्। साथीहरूले असार १ गते तातोपानीसम्म पुर्‍याएर फर्किएको भन्ने जानकारी आयो। त्योभन्दा माथिको बाटैमा पर्ने जगत प्रहरी चौकी, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन्।  हराएको यत्तिका दिन भइसक्यो, घरमा पनि सम्पर्कमा छैनन्’, एसपी खनालले भने ।

गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ पुग्न एकदिन मोटरबाटो र चार दिन पैदल हिँड्नुपर्छ। गत असार १ गते लगातार परेको वर्षाका कारण सामागाउँ जाने बाटोअन्तर्गत पर्ने हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडालगायत क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको थियो। त्यस दिन गएको पहिरोका कारण अवरुद्ध बाटो अहिलेसम्म पनि सुचारु भएको छैन।

कुँवरको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरी खोज्ने काम गरिरहेको एसपी खनालले बताए।

‘उनी परिवारको पनि सम्पर्कमा छैनन्। त्यसदिनदेखि फोन पनि अफ छ। हामीले खोजिगरिरहेका छौँ’, एसपी खनालले भने।

गत चैतदेखि प्रहरी चौकी सामागाउँमा सेवारत कुँवर ११ वर्षअघि प्रहरी सेवामा भर्ना भएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here