सर्लाही : ईश्वरपुर नगरपालिकामा निर्माणसम्मपन्न भएको सडकको कालोपत्रे ८ महिनामै उप्किएको छ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ६ स्थित धन्जोर टोलदेखि फूलजोर थान मन्दिर परिक्रमा गर्दै क्याम्पस चोकसम्मको भागको कालोपत्रेको जिम्मा आचार्य निर्माण सेवाले ठेक्का पाएको थियो।

तर निर्माण कम्पनीको लापरवाहीले यो भागको ७ सय मिटर भाग अझै कालोपत्रे हुन बाँकी छ। पिच भएको पनि अधिकांश भाग उप्किन र भत्किन थालेको छ।

वर्षा लागेसँगै कालोपत्रे धस्सिन थालेपछि काम गुणस्तरहीन हुन थालेको भन्दै त्यस ठाउँका स्थानीय आक्रोशित हुन थालेका छन्। निर्माणको काममा अनियमितता भएको र ठेकेदार कम्पनीले कमसल काम गरेको उनीहरूको आरोप छ।

निर्माण कम्पनीका ठेकेदार रामकृष्ण आचार्यलाई कालोपत्रेबारे बुझ्न खोज्दा उनले कालोपत्रे भासिएको स्विकार त गरे। उनले वर्षा लागेसँगै पानीको भेलले कालोपत्रे उप्किएको र यसको मर्मतको जिम्मेवारी आफूले लिनुपर्ने कानुनी व्यवस्था गरेको बताए।

स्थानीयले कालोपत्रेको उप्किएको र भत्केको भिडियो सामाजिक स‍ञ्जालमा हालेर यतिबेला नगरपालिकाको कामप्रति प्रश्न उठाउन थालेका छन्।

यसबारे सर्लाही एक्सप्रेसले ठेकेदार कम्पनीका उनै आचार्यलाई सम्पर्क गर्दा उनले भने, ‘भत्किएको हो। बिग्रिए हामीले बनाउनुपर्छ। निर्माण सम्पन्न भएको कालोपत्रे डेढ वर्षसम्म सोही निर्माण कम्पनीले बनाउनुपर्ने कानुनी व्यवस्था रहेको जानकारी गराएका ठेकेदार आचार्यले पत्रकारले यसबारे लेखे ‘आफ्नो फुलेको सेतो कपालसमेत नहल्लिने’ प्रतिक्रिया दिए।

उनले भने, ‘२६ करोडमा लिएको ४ इन्च मोटो सडक कालोपत्रेको ठेक्कासमेत पानीले बगाएको, यो त एक इन्चको हो बगाइहाल्छ नि।’ आफूले जिम्मा लिएको सडकको अधिकांश भाग टर्निङमा परेको र ठूला मालवाहक गाडीले टर्निङमा ब्रेक हान्दा सडक बिग्रिएको उनले बताए।

तर वडाध्यक्ष रहमद अन्सारीले भने यो सडक निर्माणको ठेक्कालगायत सबै काम नगरपालिकाको भएको र आफूहरूले मात्र ठाउँ देखाइदिने बताए। उनले भने, ‘योजना नगरको हो, गुणस्तरको काम हेर्ने प्राविधिकले हो, हामीले यसबारे के भन्न सक्छाैं र?’

साथै उनले कोभिडका कारण नगरका केही योजनाहरू रोकिएका र यो समयमा टिपरलगायत ठूला मालावाहक गाडी चल्नाले पनि सडकलाई भार बढी परेको बताए। भने, ‘वर्षाको बेलामा कालोपत्रेको बिग्रियो, यस वर्ष बढी पानी परेकाले यस्तो भएको हुन सक्छ।’

यता नगरपालिकाका प्राविधिक इन्जिनियर रमेश साहसँग यसबारे बुझ्न खोज्दा उनलाई सम्पर्क हुन सकेन।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here