परियोजना समन्वय इकाई धनुषाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन बढाउने उद्देश्यले पाँच वटा कृषक समूहलाई पाँच वटा ट्रयाक्टर अनुदानमा दिएको हो।

कुल १२ लाख ८० हजार रुपैयाँ पर्ने ट्रयाक्टर हंशपुर नगरपालिका–४ का राजदेवी कृषक समूह, औरही गाउँपालिकाको–१ का कृष्ण किसान समूह, सोही गाउँपालिकाको वडा नम्बर १ कै श्रवण कृषक समूह, सहिदनगर नगरपालिका–९ गोठ कोयलपुरका रामजानकी कृषक समूहलाई हस्तान्तरण गरिएको हो।

परियोजनाका धनुषा इकाई प्रमुख युगल किशोर तिवारीले ट्रयाक्टर खरिदमा कृषक समूहको ६ लाख ४० तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोही बराबरको रकम अनुदान प्रदान गरेर कृषक समूहलाई ट्रयाक्टर प्रदान गरिएको र यसको प्रयोग विशुद्ध रुपमा धानको उत्पादन तथा बजारीकरणमा प्रयोग हुने जानकारी दिए।

कृषक समूहलाई ट्रयाक्टरको साँचो प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झनाकुमारी काफ्ले पाण्डे तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले ब्लुबुक हस्तान्तरण गरे।

परियोजना अन्तर्गत धान जोन कार्यक्रमलाई केन्द्रित गरेर प्रदान गरिएको ट्रयाक्टरको प्रयोग कृषि कर्ममा मात्र प्रयोग गर्नका लागि सम्बन्धित समूहलाई धनुषाका प्रजिअ बास्तोलाले आग्रह गरे। उनले कृषि कर्मका लागि भन्सार छुटमा आएका रातो प्लेटका अधिकांश ट्रयाक्टरहरु व्यापारिक प्रयोगमा देखिएकाले अनुदानमा कृषि कार्यका लागि प्रदान गरिएको ट्रयाक्टर व्यापारिक प्रयोजनमा प्रयोग भएको पाइएको खण्डमा कारबाही हुने बताए।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव पाण्डेले अनुदानमा पाएका ट्रयाक्टरको प्रयोग धान उत्पादनमा प्रयोग हुने विश्वास व्यक्त गर्दै यसले धनुषामा धान उत्पादन बढाउनमा योगदान पुग्ने बताइन्। उनले  चालु आर्थिक वर्षको १० महिनामा मात्र भारतसहितको देशबाट ४२ अर्ब रुपैयाँको चामल आयात भएको बताउँदै धानको उत्पादन बढाउनका लागि प्रदेश २ का सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताइन्।

कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन लागत घटाउने उद्देश्यले परियोजनाले माछा पोखरीमा अक्सिजनको आपूर्तिका लागि एरियटर, खेत जोत्नका लागि रोटाभेटर तथा माटो सम्याउनका लागि लेबरल प्रदान गरिसकेको र अगामी आर्थिक वर्षमा धान रोपाई तथा कटाई गर्ने मेसिन प्रदान गर्ने लक्ष्य लिएको परियोजनाका धनुषा प्रमुख तिवारीले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here