सर्लाही : बर्दिवास मेडिकल कलेज निर्माण गर्न आवश्यक जग्गाका लागि माइस्थान सामुदायिक वनको विकल्प नरहेको बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले जनाएको छ।

आयोजनाका निर्देशक उपसचिव देवीप्रसाद सुवेदीले बर्दिवास मेडिकल कलेजका निम्ति आवश्यक जग्गा प्राप्ति सम्बन्धी कार्यमा ढिलाई हुँदा पूर्वाधार निर्माण कार्य नै प्रभावित बनेको बताउँदै तोकिएको स्थानभन्दा अर्को ठाउँ हेर्न नसकिने बताएका हुन्।

नेपाल सरकारको बजेटमा मै प्रदेश २ को बर्दिवासमा मेडिकल कलेज स्थापना हुने उल्लेख भएको, मेडिकल कलेज बन्ने स्थान राजमार्गसँगै रहेको र दुर्घटना बढी हुने क्षेत्र भएकाले उपचारमा सहजता हुने, प्रदेशको लगभग बीच भाग र सुगम हुनुको साथै प्रदेश २ का साथै प्रदेश १ का उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ, बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखाका लागि सहज पहुँच भएको हुँदा हरेक दृष्टिकोणले यस ठाउँको निर्विकल्प भएको निर्देशक सुवेदीले बताए।

शनिवार सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सुवेदीले जग्गा प्राप्ति सम्बन्धी कार्य नभएको कारण संरचना निर्माण हुन नसकेको बताए। उनले भने, ‘आयोजनाले यसै वर्ष निर्माण कार्य थालनी गर्ने योजना राखेको थियो। जग्गा प्राप्ति सम्बन्धी निर्णय ढिलाई हुने भएकाले आगामी आर्थिक वर्षमा समेत संरचना निर्माणमा समस्या हुनका साथै कार्य प्रभावित बन्न सक्नेछ।’

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा बर्दिवास मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो। कलेज स्थापनाका लागि बर्दिवास नगरपालिका–४ मा आवश्यक जग्गा सिफारिस गरिए पनि उक्त सरकारी वन रहेकाले मन्त्रालयमा आवश्यक प्रक्रिया मिलाउन ढिलाइ भएको हो। कलेजको पूर्वाधार निर्माणका लागि  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण, वातावरणीय परीक्षण मूल्याङकन( इआइए), गुरुयोजना निर्माणका कामहरु सम्पन्न भइसक्दा समेत जग्गा प्राप्तिमा ढिलाइ भएको निर्देशक सुवेदीले बताए।

डिभिजन वन कार्यालय महोत्तरीबाट आवश्यक फायल संघीय वन तथा वातावरण मन्त्रालयमा नपठाएको कारण जग्गा प्राप्ति प्रक्रियामा ढिलाइ उनको भनाइ छ। उनले भने, ‘यस बर्दिवास मेडिकल कलेजसँगै सरकारले घोषण गरेको बुटवल मेडिकल कलेजका लागि सम्पूर्ण प्रक्रिया सम्पन्न भई जग्गा प्राप्ति गरी निर्माणको चरणमा रहेको छ।’

सुवेदीले कलेजको पूर्वाधार तयार गर्न तीन वर्षमा सक्ने योजना रहेकोमा जग्गा प्राप्ति नहुँदा आयोजना निर्माण कार्य सक्ने समय लम्बिँदै गएको बताए। १०१ हेक्टरमा निर्माण हुन लागेको कलेज ४९ हेक्टरमा संरचना निर्माण कार्य हुने गरी प्रक्रिया अगाडि बढेको छ। ‘४९ हेक्टरभित्र १ हजार ९६७ वटा रुख रहेका छन्,’ निर्देशक सुवदीले भने, ‘प्रदेश २ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सुझावअनुसार मेडिकल कलेजको क्षेत्र १०१ हेक्टरबाट ४९ हेक्टरभित्र मात्रै संरचना निर्माण हुने गरी सीमित गरिएको हो।’

हाल ४९ हेक्टरभित्रै निर्माण हुने गरी संरचना बन्ने गरी डिपिआर तयार गरिएको आयोजनाको कार्यालयले जनाएको छ। कलेज निर्माण हुने स्थानमा पातलो रुखहरु रहेको र कम संख्यामा मात्रै रुख काटिने आयोजनाले जनाएको छ। निर्देशक सुवेदीले भने, ‘जहाँ भवन बन्ने हो, रुख काट्नै पर्ने स्थानमा मात्रै कटान हुने छ। बाहिर भनिएको जस्तो वन नै फडानी गरेर कलेज निर्माण गर्न लागिएका होइन।’

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना यस कलेजको साथै अन्तर्राष्ट्रिय स्तरको एक हजार शय्या क्षमताको अस्पताल समेत निर्माण हुने र सुरुका बर्सेनि पाँच वर्षमा १०० चिकित्सक, ८० जना नर्सिङ जनशक्ति उत्पादन हुने जनाइएको छ। हालसम्म आयोजनाका लागि ६ करोड रुपैयाँ खर्च भइसकेको कार्यालयले जनाएको छ। मेडिकल कलेज निर्माणका लागि अनुमानित ३० अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ।

बर्दिवास नगरपालिकाले ५० हजार बिरुवा रोप्ने र हुर्काउने

प्रदेश २ को जनस्तरसम्म स्वास्थ्य शिक्षा र सेवाका पहुँच बिस्तार गरी स्वस्थ नागरिक तथा समृद्ध समाज निर्माणमा मेडिकल कलेजको ठूलो योगदान रहने बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले बताएका छन्।

जग्गा छनौटदेखि सम्पूर्ण प्रक्रियामा आफू संलग्न रहेको भन्दै बर्दिवासमा बन्ने मेडिकल कलेजले सबैको हितमा रहेको उनको भनाइ छ। उनले बाहिर प्रचारमा आएजस्तो बन नै फडानी नहुने दाबी गरे। कलेज निर्माणका लागि कटान हुने बोटबिरुवाको सट्टामा नगरपालिकाले ३० हजार विरुवा रोपिसकेको र साउनसम्म ५० हजार विरुवा रोप्ने र हुर्काउने गरी योजना अगाडि बढाएको प्रमुख कार्कीले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here