सुदूरपश्चिम सरकारले बादी समुदायको वृत्तिविकास, सीपमूलक पेशा व्यवसाय प्रवर्द्धनका लागि छुट्याएको बजेटमा विवाद भएको थियो। प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि वादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएपछि वादी उत्थान विकास समिति दुई समूहमा विभाजित भएको छ।

बादी उत्थान समिति सुदूरपश्चिमकी अध्यक्ष रमादेवी बादीका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको तीन करोड रकम दुरुपयोग हुने आशंका बढेकोले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको बताइन्।

‘विगतका वर्षमा विनियोजन भएको रकम पनि दुरुपयोग भएको थियो। आगामी वर्ष पनि त्यस्तै अवस्था सृजना नहोस भन्नका लागि ज्ञापन पत्र बुझाएका हौँ। मुख्यमन्त्रीको कार्यालय अगाडि नै मिठ्ठु बादीको समूहले हामीमाथि एक्कासि आक्रमण गर्‍यो,’ उनले भनिन्।

उनका अनुसार बादी उत्थान समितिका कोषाध्यक्ष सुवास रानाबादीमाथि कुटपिट भएको हो। कोषाध्यक्षमाथि लखेटीलखेटी कुटपिट भएको उनले बताइन्। उनले मिठ्ठु बादीको समूहले गत वर्ष १० लाख रुपैयाँ निकासा गरेर मनोमानी गरेको पनि आरोप लगाइन्।

यता, मिठ्ठु बादीको समूहले भने बादी समुदायको नाममा रमा बादीको समूहले मनोमानी गरेको भन्दै विरोध जनाएका छ। बादी अधिकार संघर्ष समिति सुदूरपश्चिमकी अध्यक्ष बताउँदै आएकी मिठ्ठुले भनिन्, ‘विगतमा हाम्रा लागि छुट्याएको बजेट हिनामिना गरियो। आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएपछि फेरि उनीहरु सक्रिय भएका छन्।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कुटाकुट भएपछि दुबै समूहबीच प्रहरीको रोहबरमा मिलापत्र भएको छ। आगामी दिनमा बजेटको विषयलाई लिएर विवाद नगर्ने सहमती भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बादी समुदायको हक, हितमा काम गर्ने भन्दै तीन करोड बजेट छुट्याएको छ।

प्रहरीको रोहवरमा मिलापत्र

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि हात हालाहालको अवस्थामा पुगेका उमादेवी र मिठ्ठु वादीको समूहबीच प्रहरीको रहोबरमा मिलापत्र भएको छ।

विवादपछि वडा प्रहरी कार्यालय धनगढीमा दुवै पक्षबीच आगामी दिनमा बजेटको विषयलाई लिएर विवाद नगर्ने सहमति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनीहरुलाई सहमति गराएर पठाइएको जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here