सर्लाही : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

अदालतले उपस्थित हुन पटक-पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुगेका हुन्।

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका थिए।

आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी भएको विशेष अदालतका सह-रजिष्टार तथा प्रवक्ता विश्वराज पाण्डेयले जानकारी दिए। पाण्डेयका अनुसार अहिले गच्छदारको बयान लिने तयारी भएको छ।

अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन्। भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here