कोरोना संक्रमणको तथ्याङ्क हेर्दा डर लाग्दो अवस्था छ । विश्वमा कोरोनाले महामारीको रुप लिँदै छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको भवाभह स्थिति नै छ ।

कोरोनाको बढ्दो संक्रमणको प्रभावबाट जोगिन दैनिक व्यायाम गर्नुपर्ने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ४८ हजार कोरोना संक्रमितमा गरिएको एक अध्ययनकाअनुसार व्यायाम गर्ने व्यक्तिलाई कोरोनाले धेरै असर गर्दैन ।

व्यायाम नगर्नेमा कोरोनाका गम्भीर लक्षण देखिनुका साथै मृत्यु पनि हुन सक्ने जोखिम हुन्छ । अल्छिपनाले कोरोनाको जोखिमलाई निम्त्याउँछ ।

क्यालिफोर्नियामा कोरोना संक्रमितलाई तीन भागमा विभाजत गरेर अध्ययन गरिएको थियो । पहिलो समुहमा हप्तामा १० मिनेटभन्दा कम शारिरीक व्यायाम गर्नेलाई राखिएको थियो ।

त्यसैगरि दोस्रो समुहमा हप्तामा १० मिनेट देखि १ सय ४९ मिनेट एक्टिभ रहनेलाई राखिएको थियो । तेस्रो समुहमा १ सय ५० मिनेटभन्दा धेरै व्यायाम गर्ने व्यक्ति थिए ।

जनवरीदेखि अक्टुबरसम्म ४८ हजार कोरोना संक्रमितमा निगरानी गरिएको थियो । उक्त अध्ययनकाअनुसार हप्तामा साढे दुई घण्टा शारीरिक व्यायाम गर्ने व्यक्तिको दाँजोमा कम व्यायाम गर्नेलाई अस्पताल भर्ना गर्नुपर्ने सम्भावना दुई गुणाभन्दा बढी हुन्छ ।

व्यायाम कम गर्ने व्यक्तिको मृत्युपनि २।५ गुण बढी हुन्छ । मुटु रोगी, मधुमेह, मिर्गौला र उच्च रक्तचाप भएका व्यक्तिको तुलनामा कम व्यायाम गर्ने व्यक्तिलाई कोरोना झन् घातक भएको अध्ययनले प्रमाणित गरेको छ ।

यस अध्ययनमा अमेरिकाका ४८ हजार ४ सय ४० जना समावेश थिए । यीमध्ये १४।४ प्रतिशत पछिल्लो दुई वर्षदेखि कुनैपनि शारीरिक व्यायाममा उपस्थित भएका थिएनन् ।

७९।१ प्रतिशत व्यक्तिले सामान्य व्यायाम गर्थे । यसैगरि ६।४ प्रतिशतले हप्तामा १ सय ५० मिनेट शारीरिक व्यायाम गर्थे ।

व्यायामको महत्व

रोग प्रतिरोधात्मक क्षमतामा विकास

नियमित शारिरीक व्यायाम गर्दा रोग प्रतिरोधात्मक क्षमतामा विकास हुने विभिन्न अध्ययनले जनाएको छ । शरीरको प्रतिरोधात्मक क्षमताबाट कोरोनासँग लड्न मद्दत पुग्छ ।

फोक्सो बलियो हुन्छ

व्यायाम गर्नेहरूको शरीरमा अक्सिजन खपत बढी हुन्छ । शरीरमा अक्सिजनको कमीलाई पुरा गर्न व्यायाम गर्न जरुरी हुन्छ । अक्सिजनको अभावलाई पूरा गर्न शरीरले चाँडो चाँडो सास फेर्छ र फोक्सोको व्यायाम हुन्छ ।

यस कार्यले फोक्सो बलियो हुन्छ । कोरोनाबाट सबैभन्दा बढी मृत्यु फोक्सोको संक्रमणबाट भइरहेको छ । यस अवस्थामा फोक्सोको ध्यान राख्न जरुरी छ ।

घरमै व्यायाम कसरी गर्ने?

कोरोनाको कारणले अहिलेको अवस्थामा व्यायामको लागि घरबाहिर निस्कनु उचित हुँदैन । यस्तो अवस्थामा हामीले घरमै बसेर शारीरिक व्यायाम गर्न सक्छौं ।

व्यायामको लागि घरको आँगन, छत, वा बाल्कोनीको उपयोग गर्न सक्छौं । हल्का व्यायाम जस्तैः हिडडुल गर्न, उफ्रिन, ताजा हावा लिन सकिन्छ ।

नाच्दा पनि राम्रो व्यायाम हुन्छ । परिवारका सदस्यहरु मिलेर यस्तो व्यायाम गर्न सकिन्छ । यसले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ ।

उमेरअनुसार व्यायाम

पाँच वर्षसम्मका बालबालिकाले दिनमा ३० देखि १ सय ८० मिनेट सक्रिय रहन आवश्यक छ ।

पाँचदेखि १७ वर्षका बालबालिकालाई दिनमा १ घण्टा व्यायाम गर्न जरुरी छ । हप्तामा ३ दिन शारीरिक व्यायाममा कडा मेहनत गर्नुपर्छ ।

त्यसैगरि १८ वर्षभन्दा माथिका वयस्क व्यक्तिलाई १ सय देखि ३ सय मिनेट सामान्य शारीरिक व्यायाम गर्न आवश्यक छ । हप्तामा ७५ देखि १ सय ५० मिनेट कठोर व्यायाम गर्न जरुरी छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार एक स्वस्थ व्यक्तिले हप्तामा १ सय ५० देखि ३ सय मिनेट सामान्य शारीरिक व्यायाम गर्नुपर्छ । विज्ञकाअनुसार हिडडुल, दौड्ने, पुसअप जस्ता व्यायाम गर्नुपर्छ । यस्ता शारीरिक व्यायामले मांसपेशिलाई बलियो बनाउँछ । व्यायामले तौल घटाउन मद्दत गर्छ।

व्यक्तिले शरीरको वनावटका आधारमा व्यायाम गर्नुपर्छ । कुनै रोग छ भने त्यसलाई ध्यानमा राखी सोही अनुरुपको व्यायाममा जोड दिनुपर्छ । कुनैपनि शारीरिक व्यायाम गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिन आवश्यक छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here