सर्लाही : लकडाउनका सयमा लागुऔषध कारोबारी र यसमा संग्लनहरू सल्बलाएका छन्।

पछिल्लो समय सर्लाही जिल्ला भएर नेपाल-भारत सिमानाका लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ।

प्रहरीले कडाइका साथ निगरानी बढाएको भने पनि जिल्लामा यसको अवैध कारोबार रोकिएको छैन। पूर्वपश्चिम राजमार्ग तथा नेपाल-भारत सीमामा लागुऔषध कारोबारीले यस्तो कार्यलाई बढाइरहेका छन्।

तर पछिल्लो समय सीमा क्षेत्रलगायत स्थानबाट यस्ता अवैध धन्दामा लाग्नेहरू पक्रउ पनि पर्न थालेका छन्। जिल्लामा एक महिनाको अवधिमा दर्जनौं तस्करहरू लागुऔषधसहित रंगेहात समातिएका छन्।

नेपालबाट भारततर्फ गाँजा कारोबार गर्नेहरू फर्किँदा ठूलो मात्रामा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोरेक्सलगायत सामान लिएर आउने गरेका छन्।

सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा सर्लाहीको बागमती र लखन्देही नदीको बाटो प्रयोग गरेर गाँजा तस्करहरुले भारतीय बजारमा पुर्याउने गरेका छन्।

खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महँगा मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ।

ती तस्करहरु लाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमती प्रहरीलाई सक्रिय पारेर पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ।

गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल-भारत सीमामा कडाइका साथ निगरानी र चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारतको सोनवर्षा, भुतही, सीतामढीबाट ल्याएका लागुऔषधहरू बोर्डरका रामनगर, भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीयसँगको सम्पर्कमा आउने गरेका छन्।

स्थानीयसँगको सम्पर्कमा रहेर उनीहरूले लागुऔषध घरमा लुकाउने र विस्तारै विस्तारै नेपाल भित्र्याउने गरेका स्रोतले जानकारी दिएको छ। उनीहरूले सीमामा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर मलंगवा, भेल्ही, भाँडसर, पर्सा, नारायणपुर संग्रापुर हुँदै नेपाल भित्राउने गरेको स्रोत बताउँछ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here