सर्लाही : ईश्वरपुर नगरपालिकाले बजार क्षेत्रमा सडक मिचेर बनाइएका घर तथा टहरा धमाधम भत्काउन थालेको छ। बिहीबार नगरपालिकाले डोजर लगाएर सडक मिचेर बनाएका चार वटा घर भत्काएको थियो।

आज पनि नगरपालिकाले यस कार्यलाई निरन्तरता दिएको छ। बजार क्षेत्रमा अवैध तरिकाले बनाइएका सबै संरचना भत्काउन लागिपरेको नगरपालिकाले जनाएको छ। यस हिसाबले ३० देखि ३५ वटासम्म घर भत्किने देखिएको छ।

धेरै समयदेखि बजार क्षेत्रलाई नै असर पार्ने गरी घर टहरा बनेका भन्दै बाटो फराकिलो बनाउन नगरपालिका लागिपरेको हो। तर यस कार्यको स्थानीय व्यापारीहरूले विरोध जनाएका छन्। नगरपालिकाले बजार क्षेत्रको बाटो ७२ फिटको बनाउन लागेको छ। जसको कारण आफ्नो पसल तथा घर भत्किने भन्दै व्यापारीहरूले विरोध जनाएका हुन्।

वर्षाैंदेखि आफूहरूले बजार क्षेत्रमा व्यवसाय गर्दै आए पनि नगरपालिकाले बाटो फराकिलो बनाउँदा आफ्नो रोजोरोटी गुम्ने स्थानीय व्यापारी सुशील साह बताउँछन्। उच्च अदालत जनकपुरमा आफूहरूले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएको पनि उनले सर्लाही एक्सप्रेसलाई जानकारी दिए। भने, ‘अदालतमा मुद्दा हालेका छाैं, अदातले भनेको मान्नुपर्छ। तर हाम्रो रोजीरोटी गुम्ने खतरा भयो।’ उनका अनुसार नगरपालिकाको यस निर्णयले बजार क्षेत्रका ३५ वटासम्म घर भत्किने छन्।

मेयर मनोज देवकोटाले भने बजार क्षेत्रका सडक नक्साअनुसार मात्र बनाउन थालिएको बताए। उनले भने, ‘सबैतिर बराबर सडक बनाउन लागेका हौं। यो सहमतिअनुसार नै भएको हो। सडक अतिक्रमण भएको ठाउँलाई खाली गरेका हौं।’

सडक सानो भएकाले बजार अस्तव्यस्त भएकाले बाटो फराकिलो बनाउने अभियानमा नगरपालिका लागेको उनले बनाए। ‘असारसम्म सडक मिचेका घर टहरा हटाउने अन्तिम मिति भएकाले आफूहरूले यसप्रति तदारुकता देखाएको मेयर देवकोटाको भनाइ थियो। ‘त्यसपछि हुलाकी सडक बन्ने हुँदा हामीले काम गर्न मिल्दैन, अहिले नै सडक फराकिलो बनाउन थालेका हौं,’ उनले भने।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here