सर्लाही : नेकपा एमालेले युवा दस्ता आइटी आर्मी बनाएको छ।

प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्थाको आधार निर्माण गर्न यो दस्ता बनाइएको एमालेले बताएको छ। आइटी आर्मीको राष्ट्रिय संयोजकमा युवा नेता चन्द्र भूषण साह सर्वसम्मतिले चयन भएका छन्।

मंगलबार भक्तपुरको दिव्यश्वरी पार्टी प्यालेसमा हजारभन्दा बढी युवाको सहभागितामा आईटी आर्मीको पहिलो राष्ट्रिय भेलाबाट युवा नेता साहको संयोजकत्वमा १ सय ५१ सदस्यीय तदर्थ समिति चयन गरिएको छ।

प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, विशिष्ट अतिथि पूर्वमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री प्रभु साह, राष्ट्रिय सभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतको उपस्थितिमा भएको सो भेलामा संयोजक साहले हजारबाट सुरु भएको संगठन लाखौं करोडौंमा पुग्ने बताए।

उनले यस महाअभियानमा जोडिन सम्पूर्ण प्रगतिशील, देशभक्त तथा न्यायप्रेमी जनसमुदायमा हार्दिक आह्वान समेत गरेका छन्।

संयोजक साहले आइटी आर्मीको हिस्सा बन्न मोबाइल नम्बर ९८५११२२१६३ मा सीधा सम्पर्क गर्न वा संगठनको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here