काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार सरकारले बेहोर्ने भएको छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १७ असारमा भारतको नयाँदिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचार खर्चका लागि शेरबहादुर देउवा सरकारले हालै ३० लाख रुपैयाँ निकासा गरिसकेको छ।

आर्थिक हैसियत बलियो भएका खनालको उपचार खर्च सरकारले बेहोर्ने र रकम नै निकासा भइसकेको विषय यसबेला आलोचना भइरहेको छ।

राजधानी बाहिरबाट आएका एमाले नेताहरुमध्ये खनाल काठमाडौंमा सबैभन्दा पहिले घर बनाउने नेताभित्र पर्छन्। उनले ०५३ तिरै छाउनीमा घर बनाएका थिए।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ५ असारमा खनाललाई त्यहीँबाट फोन गरेर उनको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका थिए।

खनालको उपचारमा सरकारले खर्च बेहोर्ने देउवाको आश्वासनपछि नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गराएको उपचार खर्च सरकारले बेहोर्नु गैरकानुनी भएको टिप्पणी गरिसकेका छन्।

बरु त्यसका लागि जनस्तरबाट चन्दा उठाउन आफूहरु तयार रहेको थापाको भनाइ थियो।

खनाल प्रशस्तै जग्गा–जमिन, घर र सम्पत्ति भएका नेता हुन्। गृह जिल्ला इलाम र काठमाडौंमा उनको नाममा जग्गा, घर र चियाबगानदेखि हाइड्रोपावरसम्म उनको दाबी छ।

२०६७ मा प्रधानमन्त्री भएका बेला खनालले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। तर, त्यसयता लामो समयसम्म उनको सम्पत्ति विवरण अद्यावधिक छैन।

करिब १० वर्षअघि खनालले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार उनकी श्रीमती रविलक्ष्मी चित्रकारका नाममा साविक काठमाडौं महानगरपालिका वडा नं १५ मा ९४४ वर्गफिट अर्थात् २.७५ आनामा बनेको घर छ।

यो घर ससुरा स्वर्गीय कृष्ण बहादुर चित्रकारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ। त्यस्तै, खनालकै नाममा इलामको साँखेजुङमा–२३ रोपनी ३ आना, नौ रोपनी चार आना, सात रोपनी १० आना, २१ रोपनी चार आना जग्गा छ। यो जग्गा अंशवापत प्राप्त भएको उनले उल्लेख गरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here