काठमाडौं : कालीकोटको रास्कोट नगरपालिकाभित्र यातायात व्यावसायीले गाडी सञ्चालन नगर्ने अडान लिएका छन्।

कर्णाली करिडोर हुँदै रास्कोट नगरमा सञ्चालित मानसरोवर  यातायात, बुलबुले यातायात र रारा कर्णाली यातायात समितिले रास्कोट नगरपालिकाभित्र कुनै  पनि  सार्वजनिक  यातायातका  गाडी  सञ्चालन  नगर्ने औपचारिक निर्णयसमेत गरेका छन्।

यातायात व्यावसायीले गाडी दुर्घटना हुँदा नगर सरकारकै  अगुवाइमा  मनलाग्दी  क्षतिपूर्ति  असुल  गराउने गरिएको बताउँदै त्यस क्षेत्रमा गाडी नचलाउने निर्णय गरेका हुन्।

रारा कर्णाली   मानसरोवर   समितिका   लालीघाट   इन्चार्ज   वैकुण्ठ   गिरीले   रास्कोट   नगरपालिकाका  उपप्रमुखकै  सक्रियतामा  आफ्नो  समितिलाई  ११  लाख  रुपियाँ  क्षतिपूर्ति  तिराउने  निर्णय  भएकाले  रास्कोट  क्षेत्रमा  गाडी  नचलाउने  निर्णय भएको बताए।

उनले गत  असार  २२  गते  क१ज २३  नम्बरको गाडी रास्कोट-६, रोटेमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र आफन्तले  ११  लाख  क्षतिपूर्ति  पाउने भन्दै निर्णय भएको बताए।

बीमाको  रकम  र  काजकिरिया  खर्च  पाउने  कानुनी  व्यवस्था  हुँदा  पनि  उपप्रमुख  र  प्रशासनको  रोहवरमा  मनलाग्दो  क्षतिपूर्ति  लिने  निर्णय  भएको उनले गुनासो गरे।

यस  विषयमा  रास्कोट  नगरपालिका  उपप्रमुख  मिमसरा बम शाहीले प्रशासनसहितको रोहवरमा दुवै पक्ष सहमत भएर गरेको निर्णयको आफू साक्षी मात्र बसेकाले बढी क्षतिपूर्ति दिलाउने भूमिकामा आफ्नो संलग्नता नभएको दाबी गरिन् ।

उनले जिल्ला  प्रहरी  कार्यालय  कालीकोटका  प्रहरी निरीक्षक भुपेन्द्र शाहीसमेत छलफलमा रहेकाले उपप्रमुखले घेराबन्दी गरेर ११ लाख रुपियाँ तिराउने निर्णय भयो भन्नु गलत भएको टिप्पणी गरिन् ।

यता,  जिल्ला  प्रहरी  कार्यालय  कालीकोटका  सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुपेन्द्र शाहीले आफूहरूले छलफलको वातावरण मात्र मिलाएको र दुवै पक्षबीच झडप हुन नदिन सुरक्षा मात्र दिएको बताए ।

बीमाबाहेकको  बाँकी  क्षतिपूर्तिका  विषयमा  आफ्नो  कुनै  संलग्नता  नभएको  उनको दाबी छ। गोरखापत्र दैनिक

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here