सुदूरपश्चिम प्रदेश सरकारले कोभिडको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजनाहरू बनाएर तयारी थालेको छ।

प्रदेश भित्रिने सबै जनाको कोरोना परीक्षण गर्न भारतसँगका सीमानाका र धनगढी विमानस्थलमा कोरोना परीक्षण डेस्क स्थापना गरिने भएको छ। हेल्प डेस्कमा एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरेर मात्रै भित्र्याउने योजना प्रदेश सरकारले बनाएको हो।

मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन गर्न गठित निर्देशक समितिको बुधबारको बैठकले कोरोना भाइरसको तेस्रो लहरको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न विगतका हर प्रयासलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

सीमा नाकामा आवागमन गर्नेहरूको अभिलेख राख्ने, अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्ने र सोसम्बन्धी विवरणहरू सम्बन्धित स्थानीय पालिकाहरूलाई उपलब्ध गराउने जिम्मा प्रदेश सामाजिक विकास मन्त्रालयलाई तोकिएको प्रमुख सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए।

यस्तै बैठकले बालबालिकालाई ध्यानमा राखेर सबै जिल्ला र प्रादेशिक अस्पतालमा अक्सिजन भेन्टिलेटर र आईसीयू बेड तयारी अवस्थामा राख्ने, कोरोनाविरुद्धको खोपलाई उचित व्यवस्थापन गर्न तथा रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहसँग समन्वय गरेर जाने निर्णय गरेको छ।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकामा बन्दै गरेका होल्डिङ सेन्टर, आइसोलेसनलगायतलाई थप व्यवस्थित र आवश्यक भौतिक पूर्वाधार तथा सर्जिकल स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।

उनले भने, ‘कोभिडको तेस्रो लहरको रोकथामको तयारी र विगतमा गरिएका कार्य सम्पादनको समीक्षा गरेर सङ्क्रमण फैलिन नदिन एकीकृत प्रयास थालिन्छ।’

स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्तिको अभाव हुन नदिने, कोरोनाका बिरामीको उपचार हुँदै आएका अस्पतालमा बालबालिकाका लागि छुट्टै वार्डको व्यवस्था गर्नेलगायतका कार्य अगाडि बढाइएको उनको भनाइ छ।

यसअघि प्रदेश सामाजिक मन्त्रालयले कोरोना नियन्त्रणमा प्रदेशका नौवटै जिल्लाका ८८ वटा स्थानीय तहका प्रमुख-उपप्रमुख, जिल्ला कोभिड व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, स्थानीय तह स्वास्थ्यशाखा प्रमुखसहित स्वास्थ्यकर्मी र अन्य सरोकारवालाको सहभागितामा अन्तरक्रिया गरेको छ।

कोभिड महामारीको तेस्रो लहरमा सङ्क्रमित हुन सक्ने बालबालिकासहितलाई ध्यानमा राखी स्वास्थ्य उपचार तथा व्यवस्थापनका लागि कार्ययोजना तयार गर्दै गरेको हुनाले सो कार्ययोजनामा सुझाव लिइएको मन्त्री लालबहादुर खड्काले बताए।

‘विश्व स्वास्थ्य सङ्गठनलगायत जनस्वास्थ्य विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन गरेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एकीकृत प्रयास थाल्नु आवश्यक छ,’ मन्त्री खड्काले भने, ‘विगतका कमीकमजोरी सच्याएर प्रभावकारी रूपमा काम अगाडि बढाउन आजैदेखि तयारी थालेका छौँ।’

गोरखापत्र

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here