सर्लाही : आफू आबद्ध कृषि सहकारी संस्थाले आधुनिक कृषि यन्त्र भित्राएपछि किसान वीरबहादुर खड्का खुशि  छन्।

सर्लाहीको वागमती नगरपालिका-१० शंकरपुरका उनी खेती किसानीमा मिहिनेत, समय र लगानी कम लाग्ने भन्दै खुसी भएका हुन्। यसअघि उनले चर्को मूल्य तिरेर हल गोरु र ट्र्याक्टरको भरमा डेढ बिघामा खेती गर्दै आएका थिए।

आधुनिक खेती गर्ने उद्देश्यले स्थानीय साना किसान सहकारी संस्थाले कस्टम ह्यारिङ सेन्टर स्थापना गरेको हो। सेन्टरमा ६ वटा ट्र्याक्टर, २ वटा माटो मिलाउने मेसिन, २ वटा मिनी टेलर, ५ वटा मकै रोप्ने मेसिन, ५ वटा ट्रली, एउटा कम्बाइन्ड हार्बेस्टर, २ वटा बोरा सिलाउने मेसिन, ४ वटा रोटाभेटर, एउटा एम्बी प्लग, ४ वटा डिक्स ड्यारो, ६ वटा कल्टिभेटर, एउटा धानको बीउ राख्ने मेसिन, २ हजार थान प्लास्टिक ट्रे, १/१ वटा धान रोप्ने मेसिन र रिपर छन्।

कृषियन्त्र आएपछि किसानले मजदुर खोज्नुपर्ने अवस्था अन्त्य भएको खड्काले बताए । उनले चर्को मूल्यमा खेती गर्दै आएको किसानलाई यन्त्रमार्फत केही बचत हुने अपेक्षा गरे। खड्काका अनुसार धान खेतीमा एक कट्ठा रोपाइँका लागि किसानले ४ सय रुपैयाँ तिर्नुपरेको थियो भने मकै रोपाइँका लागि प्रतिकट्ठा ५ सय तिर्थे। ‘पहिला मजदुर लगाएर खेतीको सबै काम गर्नुपरेको थियो, त्यसले उत्पादन लागत बढी हुन्थ्यो,’ उनले भने, ‘अब हाम्रै सहकारी संस्थाले अधिकांश कृषियन्त्र ल्याएको छ, जसले बाली रोप्नदेखि भित्र्याउनसम्म सहज हुनुका साथै लागत पनि कम लाग्ने छ।’

सहकारीका अर्का सदस्य महेन्द्र महतोले धान खेतीका लागि प्रतिबिघा १० हजार खर्च हुँदै आएकामा अब ६ हजार रुपैयाँ मात्र लाग्ने बताए। उनले कटाइ र दाउनी गर्दा प्रतिबिघा लाग्ने १२ हजार पनि घटेर ८ हजार रुपैयाँमा पुग्ने जनाए।

महतोका अनुसार मकैको कटाइ, ढुवाइ र दाना छोडाउन प्रतिबिघा २५ हजार लाग्ने गरेकामा आधुनिक यन्त्रमार्फत १० देखि १२ हजार मात्र लागत लाग्छ । ‘कृषियन्त्रमार्फत खेती गर्दा पहिलाको भन्दा झन्डै आधा खर्च मात्रै पर्छ,’ महतोले भने, ‘समयको बचत हुनुका साथै सुरक्षित तरिकाले बाली भित्र्याउन पनि सहज हुन्छ।’

प्रदेश २ सरकार कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ वटा आधुनिक कृषियन्त्र ल्याएको सहकारीकी अध्यक्ष कमलकुमारी पोखरेलले जानकारी दिइन् । उनले २ करोड ७० लाख २२ हजार लागतमा यन्त्र खरिद गरी कस्टम ह्यारिङ स्थापना गरेको बताइन्।

निर्देशनालयले १ करोड ४० लाख २३ हजार रुपैयाँ अनुदान दिएको छ । कुल ३ हजार ३३ सदस्य रहेको यो संस्थाले सहुलियतमा मलखाद उपलब्ध गराउनेलगायत काम गर्दै आएको छ।कान्तिपुर

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here