सर्लाही : जिल्लाकाे चन्द्रनगर गाउँपालिकामा सडक निर्माणको काम नै नगरी कागजमै मिलाएर १५ लाख रुपैयाँ बजेट बाँडफाँट भएको बाहिरिएको छ।

चन्द्रनगर गाउँपालिका-१ किसनपुरमा रामवृक्ष महतोको घरदेखि भैसीयाहीसम्मको सडकमा एक रुपैयाँको काम नगरी रकम निकासा गरिएको हो। संघीय सांसद प्रमोद साहको संसदीय कोषबाट प्राप्त १५ लाखबाट स्तरोन्नति गर्ने भनिएको सडकमा काम नै नगरी रकम बाँडफाँट भएको थाहा पाएपछि स्थानीयले विरोध गरेका छन्। 

सडकमा काम नै नगरी रकम निकासा भएको थाहा पाएपछि विरोध गरेको स्थानीय अवधलाल रायले बताए। ‘स्थानीय सरकार लुटतन्त्रमा लागेका कारण चन्द्रनगर गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको छ, सरकारले छानबिन समिति गठन गरी सडकको अनियमितता र भ्रष्टाचारमा संलग्न जोकोहीलाई कडा कारबाही गर्नुपर्छ,’ रायले भने। 

सडक मर्मत सम्भार नहुँदा आम नागरिकहरुलाई हिँडडुल गर्न निकै समस्या भएकाे छ। सडकमा काम नै नगरी रकम निकासा भएपछि आफू र वडाअध्यक्ष मिलेर गाउँपालिकामा निवेदन दिएको वडासदस्य जुगलकिशोर यादवले बताए। 

गाउँपालिका अध्यक्षले वडाअध्यक्षलाई आर्थिक प्रलोभन देखाएकाे आराेप स्थानीयले लगाएका छन्। बजेट बिनियाेजन भए पिन सडक निमार्ण कार्य नभएको भन्दै वडाअध्यक्ष बच्चे राय यादव र जुगलकिशोर रायले गाउँपालिकामा साउन ५ गते निवेदनमा समेत दिएका थिए।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले रामवृक्ष महतोको घरदेखि भैसीयाही सम्म तीनवटा सडक रहेको बताए। गाउँपालिकाले रामवृक्ष महतोको घरदेखि बेचन पासवनको घरहुँदै भैसीयाही सम्म जाने सडक निर्माण गरेकाे उनले दाबी गरे।  

रामवृक्ष महतो भने आफ्नाे  घरदेखि भैसीयाहीसम्म जाने एक मात्र सडक रहेको र उक्त्त सडकमा पाँच रुपैयाँको समेत काम नभएको बताए। गाउँपालिकाले प्रस्तुत गरेको कार्य सम्पन्न प्रतिवेदनमासमेत रामवृक्ष महतोको घरदेखि भैसीयाही पुलसम्म जाने बाटो निमार्ण कार्य सम्पन्न भएकाे उल्लेख गरिएको स्थानीय  राजकुमार महतोले बताए। 

महताेले सडकमा एक रुपैयाँकाे माटो समेत नहालेर सबै रुपैयाँ भ्रष्टाचार गर्नेमाथि छानबिन गरी दाेषीलाई कडा कारबाही गर्न दबाब दिन समिति नै गठन गरिएकाे जानकारी दिए। 

महेन्द्र महतो सांसद राजेन्द्र महतोको जेठो दाइ र प्रदेश सांसद ओपेन्द्र महतोको बुबा हुन। उनी राजनीतिक पहुँच र शक्तिकाे आडमा गाउँपालिकाको विभिन्न शिर्षकमा व्यापक अनियमितता र भ्रष्टाचार गर्दै आएको स्थानीयले आरोप लगाएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here