सर्लाही : जनकपुरधाममा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ। सोमबार जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको हो।

अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहले भने सफाइ पाएका छन्। सजाय भने अर्को पेशीमा मिश्रले जानकारी दिए। ‘सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ’ उनले भने, ‘त्यो पेश गरेपछि सजाय तोकिनेछ।’

गत कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर संजीवले २६ वर्षीया श्रीमती आरती साह र तीन वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए।

आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए भने संजीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्ता पछि पक्राउ गरिएको थियो।

चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती लगायत शरीरको आधा भन्दा बढी भाग जलेर कुरुप बनेको छ। घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि संजीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिताले बताइन्।

केही वर्षअघि पनि संजीवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here