सर्लाही : गएको आर्थिक वर्षभित्र प्रदेश नम्बर २ मा सवारी दुर्घटनामा ५२३ जनाले ज्यान गुमाएका छन्।

समतल भू–भागमात्र रहेको प्रदेशको पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका ८ जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा यतिधेरै मानिसले ज्यान गुमाएका हुन्।  

चालकको असावधानीका कारण अधिकांश दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या विश्व महामारीका रूपमा फैलिएको कोरोनाबाट भन्दा पनि उच्च देखिएको छ।

चालक र पैदल यात्रीले ट्राफिक नियम पालना गरी सावधानी अपनाइदिएको भए यति धेरै मानवीय हताहती ब्यहोर्नुपर्ने स्थिति नआउने प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ ले जनाएको छ।   

३ हजार ९८३ सवारी दुर्घटना 

असार मसान्तसम्म एक वर्षको अवधिमा कुल ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा उक्त संख्याका मानिसको ज्यान गएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

अघिकांश दुर्घटना चालकको लापरवाहीले भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तु जयसवालले बताए। नगन्य मात्रामा बाहेक सबै दुर्घटना चालकको असावधानीले भएको उनले बताए।

‘यान्त्रिक गडबडीले १०० जति सवारी पनि दुर्घटना नभएका होलान्,’ उनले भने।  

१ हजार ९३० जना गम्भीर घाइते

झण्डै चार हजारजति सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर घाइते भएका छन्।

उनीहरूको अवस्था गम्भीर हुँदा अरू पनि धनजनको क्षति भएको हुनसक्ने प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सवारी दुर्घटनामा परेका ४ हजार ७४ जना भने सामान्य घाइते भएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here