सर्लाही : सात किसान संगठनहरूले किसानहरूको उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानीमा विगतका सरकार तथा उद्योगीहरू इमान्दार नभएको आरोप लगाएका छन्।

एक विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएको र पुरानो तथा नयाँसमेत अर्बौं रुपैयाँ भुक्तानी नपाई देशभरका उखु किसानहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ ,अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप्फा) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन,अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति जारी गर्दै महत्वपूर्ण खाद्यबाली तथा कृषि उपजको बजार व्यवस्था, लाभकारी मूल्य निर्धारण र मूल्य निर्धारण गर्ने प्रक्रियामा किसानको सहभागिता सुनिश्चित गर्न जोडदार माग गरेका छ।

‘नेपाली किसानहरू देशका आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका बाहक, देशका मुख्य उत्पादक तथा जीवनदायिनी शक्ति हुन् । कृषि भूमि देशको मुख्य उत्पादनको साधन र प्रकृतिप्रदत्त साझा सम्पदा हो । तर बिडम्बना नेपालमा खेती गर्ने किसानसँग जमिन छैन, जमिन हुनेहरू सबै कृषि उत्पादनमा संलग्न छैनन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘भूमिको सवाललाई सामाजिक न्याय र उत्पादकत्व बृद्धिसँग जोड्दै भूमिसुधार लागु गर्ने कुरा संविधानमै व्यवस्था गरिएको भए पनि केपी ओली सरकारले तीन वर्षसम्म सोसम्बन्धी कुनै कार्यक्रम ल्याएन । बरु गुठी विधेयक, भूमि बैंक, करार खेती र कृषि विकास रणनीतिले निषेध गरेको कृषिमा विदेशी लगानी भित्र्याउने जस्ता विश्वव्यापी रूपमा असफल भइसकेका किसानविरोधी नीतिहरू अगाडि सार्‍यो।’

सरकारले बनाएको कथित भूमि समस्या समाधान आयोग समेत आफ्ना सीमित आसेपासेहरूलाई जागिर खुवाउने भर्ती केन्द्र मात्रै बनाएको संगठनले आरोप लगाएका छन्।

कृषि उत्पादनमा संलग्न हुन चाहने दलितसहित सबै भूमिहीनहरू, मुक्त कमैया, मुक्त हलिया, हरवा, चरवा, कृषि श्रमिक, मोही र गरिब किसानहरूलाई जिविकापुग्दो जमिन दिने, सहकारी तथा सामूहिक खेती प्रणालीको दिशामा अघि बढाउने र सम्पूर्ण सुकुम्बासी, अव्यवस्थित बसोबासीहरू र बेदर्तावाल मोहीहरूको समस्या समाधान गर्न जग्गाधनी पुर्जासहित जमिन उपलब्ध गराउनु अपरिहार्य रहेको जारी विज्ञप्तिमा लेखिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here