सर्लाही : जनकपुरमा होटल सञ्चालकले एक बालकलाई कुटेर गम्भीर घाइते बनाएका छन्। 

गायत्री कुञ्ज नामक होटलका सञ्चालक अमरनाथ गुप्ताले लिफ्ट खेल्न आएको भनेर नाबालकमाथि कुटपिट गरेका हुन्। कुटपिट गर्नुका साथै गुप्ताले ती बालकलाई होटलको लिफ्टमा बन्द गराइ राखेको अवस्थामा स्थानीयले मंगलबार राति उद्धार गरेका थिए।

स्थानीय सञ्जय ठाकुरका १२ वर्षीय छोरा आदित्यलाई मरणासन्न हुनेगरी कुटेपछि होटलको लिफ्टमा बन्द गराएका र बालककी आमाले रोइकराइ गरेपछि स्थानीय भेला भई बालकको उद्धार गरेका हुन्। 

गम्भीर घाइते आदित्यको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार बच्चाको अवस्था गम्भीर छ। बच्चा अचेत अवस्थामा रहेको र शरीरका विभिन्न भागमा चोटपटक लागेकाले २४ घण्टापछि मात्र स्वास्थ्य अवस्थाबारे यकिन हुने चिकित्सकहरूले जनाएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित होटल छेउमै ठाकुरको घर छ। होटल अगाडि खाली सडकमा सधैं खेलिरहने बच्चाहरूलाई गुप्ताले पटक पटक हप्काउने र कुटपिट गर्ने गरेका पीडितहरू बताउने गर्छन्। 

मंगलबार साँझ होटल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा बालक खेल्न पुगेको बेलामा संचालकले निर्घात कुटपिट गरेका हुन्। सञ्चालक गुप्ताका २ कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी बालकलाई कुटपिट गरेको स्थानीयवासीको आरोप छ।

बालकलाई खोज्दै आमा होटल आउँदा बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको थाहा पाएर रुन कराउन थालेपछि स्थानीयले देखेका थिए। बालकलाई उद्धार गर्दै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई उनीहरूले जानकारी गराएका थिए।

बालकलाई किन निर्घात कुटपिट गरेको भनी सोध्न पुगेका बालकका बुवा संजय ठाकुरलाई समेत होटल सञ्चालक गुप्ताको निर्देशनमा ती कर्मचारीले कुटपिट गरेका थिए।

यसरी बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटलमा कर्मचारी रहेका महोत्तरी मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय  सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

गुप्ताले खोलेको होटल जानकी मन्दिरको जग्गा मिचेर बनाइएको आरोप लाग्दै आएको छ। उपमहानगरपालिकाको मापदण्डलाई मिचेर गुप्ताले बनाएको होटल भत्काउन कयौं पटक पत्राचार भए पनि संरचनामा झन थप निर्माण गरिएको छ।

‘शुद्ध शाकाहारी’को बोर्ड लगाइएको त्यो होटलमा माछामासुसमेत चल्ने गरेको स्थानीय बासिन्दाको आरोप छ। बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कुटपिट गरिएको स्थानीयको आरोप छ।

बच्चाको अवस्थालाई हेरेर गुप्तालगायत पक्राउ परेकामाथि कारबाही गरिने धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जनाए। बच्चामाथि कुटपिट गरी लिफ्टमा थुन्ने कार्य जघन्य अपराध भएकाले दोषीहरूलाई कारबाही हुने उनले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here